काठमाडौं । मधेश प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यू-१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । अदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका अंकित ताजपुरीयाले कांस्य जिते ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा गौरीले निर्धारित दूरी तय गर्न १४.६ सेकेन्ड समय खर्चिन् । कर्णालीकी गोमा शाहीले रजत तथा कोशीकी प्रकृति काफलेले कांस्य हात पारे ।
छात्र ४ सय मिटर दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो भए । उनले ५५.६ सेकेन्डमा दौड सकाए । सुदूरपश्चिमका रोहित धामी दोस्रो तथा कोशीका प्रियान्शु शाह तेस्रो भए ।
सोही स्पर्धाको छात्रामा कर्णालीकी सुषमा बुढा ६९.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । गण्डकीकी आराध्या चालिसे दोस्रो तथा बागमती प्रदेशीकी शिल्भी नागा तेस्रो बने ।
छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो भए । उनले ५.९८ मिटर जम्प गरे । कोशीका नितेश गच्छदार दोस्रो तथा सुदूरपश्चिमका मोहन परियार तेस्रो भए । उक्त स्पर्धाको छात्रामा ४.१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारू चौधरी पहिलो बनिन् । कर्णालीकी करुणा चन्द दोश्रो तथा कोशीकी प्रकृति काफ्ले तेस्रो भए ।
जम्मा १२ स्पर्धा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले २ स्वर्ण जितेको छ । सुदूरपश्चिम, गण्डकी, मधेश र लुम्बिनीले समान १–१ स्वर्ण जितेका छन् ।