काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ । सभामुखले सिंहदरबारमा आज बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभयो ।
सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाउनुभयो । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उहाँले संवैधानिक सीमा र व्यावहारिक पक्षको ख्याल गर्न आग्रह गर्नुभयो ।
प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाउनुभएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिनुभयो ।
सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको माग अनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्याउनुभयो ।