काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्याम हटस्परले मुख्य प्रशिक्षक एन्जे पोस्टेकोग्लुलाई बर्खास्त गरेको छ।
गत महिना युरोपा लिगको फाइनल जितेर क्लबलाई १७ वर्षपछि पहिलो प्रमुख उपाधि दिलाए पनि अस्ट्रेलियन प्रशिक्षक पोस्टेकोग्लुलाई शुक्रबार क्लबले पदबाट हटाएको हो।
पोस्टेकोग्लु आफ्नो नियुक्ति भएको दुई वर्ष पूरा भएको दिनमै क्लबबाट बिदा भएका छन। उनकै नेतृत्वमा यो क्लबले बिलबाओमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै युरोपा लिग जितेको थियो र यसले अर्को सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको थियो। तर, घरेलु लिगमा निराशाजनक प्रदर्शनका कारण पोस्टेकोग्लुले पद गुमाएका छन।
गत सिजन टोटेनह्याम प्रिमियर लिगमा १७ औं स्थानमा रहेपछि ५९ वर्षीय पोस्टेकोग्लुमाथि दोस्रो वर्षमै दबाब बढेको थियो।