काठमाडौं । क्रोएसियाले फिफा विश्वकपको युरोपेली छनोटमा उत्कृष्ट सुरूवात गर्दै जिब्राल्टरमाथि ७-० को जित हासिल गरेको छ।
पोर्चुगलको फारोस्थित एस्टाडियो अल्गार्भमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले शानदार प्रदर्शन गर्यो। यो क्रोएसियाको सबैभन्दा ठूलो जितको कीर्तिमानसँग बराबरी भएको छ।
यसअघि उसले २००८ मा एन्डोरालाई पनि ७-० ले पराजित गरेको थियो। जिब्राल्टरको घरेलु मैदानले फिफाको मापदण्ड पूरा नगरेकाले यो खेल तटस्थ रंगशालामा थोरै दर्शकमाझ खेलिएको थियो।
यस खेलमा ६ फरक खेलाडीले गोल गरे। फ्रान्को इभानोविच र आन्द्रेज क्रामारिचले समान २-२ गोल गरेर टिमको फराकिलो जितमा सहयोग गरे। मारियो पासालिचले खेलको २८औं मिनेटमा पाहुना टिमलाई ब्रेकथ्रु दिलाए भने एन्टे बुडिमिरले त्यसको दुई मिनेटपछि अग्रता दोब्बर पारे ।
फ्रान्को इभानोविचले दोस्रो हाफमा द्रुत गतिमा दुई गोल गरेका थिए। यसैगरी इभान पेरिसिच ७३औं र आन्द्रेज क्रामारिचले ७७ र ७९ औं मिनेटमा गोल थपेर नतिजा सुनिश्चित पारे ।
क्रोएसियाले ६९ प्रतिशत बल पोजेसन कायम राख्यो भने जिब्राल्टरले तीनवटा मात्र सट प्रहार गर्न सक्यो। गएरातिको जितसँगै क्रोएसिया समूह एलमा एक खेलबाट तीन अंक र ७ गोल अन्तरसहित तेस्रो स्थानमा उक्लिएको छ। गएराति नै भएको अर्को खेलमा नर्वेले इटालीविरूद्ध ३-० को जित हात पारेको छ।