फ्रेन्च ओपन उपाधिका लागि आल्काराज र सिनर भिड्ने

जेष्ठ २४, २०८२ |खेल ब्युरो
फ्रेन्च ओपन उपाधिका लागि आल्काराज र सिनर भिड्ने

काठमाडौं । फ्रेन्च ओपन २०२५ पुरूष एकलतर्फ गत वर्षका विजेता स्पेनका कार्लोस आल्काराज र विश्व नम्बर एक इटालीका यानिक सिनर उपाधिका लागि भिड्ने भएका छन।

शुक्रबार राति सम्पन्न सेमिफाइनलमा आल्काराजले इटालीकै लोरेन्जो म्युसेट्टीविरूद्ध ३-१ को सेटमा जित हासिल गरे। पहिलो सेट गुमाएपछि आल्कारेजले आफ्नो लय समात्दै बाँकी खेलमा दबाब सिर्जना गरे । 

उनले पहिलो सेट ४-६ ले गुमाएका थिए। प्रतिस्पर्धात्मक दोस्रो सेटमा उनले टाइब्रेकरमा ७-३ को जित हासिल गरे । तेस्रो सेटमा उनले ६-० को जितसहित म्युसेट्टीलाई निष्क्रिय पारे । २-० को अग्रता बनाएको अवस्थामा म्युसेट्टीले बाँया खुट्टामा चोटका कारण खेल त्यागेपछि ल्काराजले फाइनलमा स्थान बनाएका हुन्।

त्यसैगरी, अर्को सेमिफाइनलमा यानिक सिनरले २४ पटकका ग्र्याण्ड स्ल्याम विजेता सर्बियन नोभाक जोकोभिचलाई सोझो सेटमा हराए । पहिलो सेट ६-४ ले जितेका सिनरले त्यसपछि ७-५ र टाइब्रेकरमा ७-३ ले जोकोभिचलाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरे। 

३८ वर्षीय जोकोभिच ऐतिहासिक २५औं ग्र्याण्ड स्ल्याम उपाधिको खोजीमा थिए । तर सिनरको आक्रामक फोरह्यान्ड र स्थिरता उनका लागि चुनौती बन्यो। अब आइतबार हुने फाइनलमा आल्काराज र सिनरबीच रोचक भिडन्त हुने निश्चित छ। 

आल्काराज यो शताब्दीमा रोलाण्ड ग्याराेसको उपाधि रक्षा गर्ने राफा नाडाल र गुस्तावो कुएर्तेनपछि तेस्रो पुरूष खेलाडी बन्ने प्रयासमा छन् भने सिनर पहिलो पटक फ्रेन्च ओपनको उपाधि जित्न उत्सुक छन।