राखेपको आयोजनामा अन्डर फोर्टिन राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने

जेष्ठ २४, २०८२ |खेल ब्युरो
राखेपको आयोजनामा अन्डर फोर्टिन राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्-राखेपको आयोजनामा अन्डर फोर्टिन राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ विद्यालय खेलकुद गर्न लागिएको हो ।

प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडी सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राखेपले जनाएको छ । जिल्ला/प्रदेश छनोट चरण पार गरी राष्ट्रिय खेलकुदमा खेलाडी सहभागी हुन लागेका हुन् ।

प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, थ्री बाइ थ्री बास्केटबल, रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा १२ तथा टेबलटेनिस र ब्याडमिन्टनमा ४ स्पर्धामा खेल हुनेछ । 

नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालिको सह-आयोजनामा हुन लागेको प्रतियोगितामा २५ स्वर्ण, २५ रजत र ३३ कांस्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको स्वर्ण विजताले ४ हजार हात पार्ने छन । 

एथ्लेटिक्स र रग्बी दशरथ रंगशाला, टेबलटेनिस लैनचौरको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हातामा, ब्याडमिन्टन बूढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ । 

क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । बाँकी ५ खेल जेठ २५ देखि २६ गतेसम्म चल्ने छ । प्रतियोगितामा सहभागी सम्पूर्ण टीमको खाने बस्ने राखेपले ब्यहोर्ने छ । प्रतियोगिताको कुललागत ९७ लाख रहेको छ ।