काठमाडौं । नेपाल सम्मिलित आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्डमा जारी सरिजमा घरेलु टिमले नेदरल्यान्ड्सलाई ४४ रनले हराएको छ।
नेदरल्यान्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा नौं विकेट गुमाएर दुई सय ६२ रन बनाएको थियो। नेदरल्यान्ड्स ४५ ओभरमा अल आउट भएर २ सय १८ रनमा समेटिएपछि खेल स्कटल्यान्डले जितेको हो।
स्कटल्यान्डका ओपनर जर्ज मुन्जीले २६ रन बनाए पनि चार्ली टियर र ब्रान्डन मक्मलेनले दोहोरो अंकमा रन जोड्न सकेनन्। उसले ४३ रन बनाएको अवस्थामा तीन विकेट गुमाएको कमजोर अवस्थामा पुगेको थियो। तर पाँचौ नम्बरका फिनले म्याक्रेथले ८१ रन बनाएर घरेलु टोलीलाई प्रतिस्पर्धात्मक अवस्थामा पर्याए।
अन्तिममा मार्क वाटले ६० र साफियान शरिफले ३६ रन बनाएर बलियो लक्ष्य प्रस्तुत गरेका हुन्। डच टोलीका लागि केलि क्लेनले तीन विकेट लिए भने आर्यन दत्त र रोलेफ भान डर मेरवीले समान २-२ विकेट लिएका थिए।
नेदरल्यान्ड्सको ओपनिङमा मिचेल लेविट र माक्स ओ डाउड आएका थिए। तर उनीहरूले लामो साझेदारी गर्न सकेनन्। टिमको खातामा २९ रन हुँदा म्याक्स ओ डाउड व्यक्तिगत २३ रन बनाएर बाहिरिए।
यता स्कटल्यान्डका लागि मक्मलेनले तीन विकेट लिएर स्कटल्यान्डलाई बलियो अवस्थामा राखिरहे भने जसपर डेविडसन, साफयान शरिफ र मार्क वाटले समान २-२ विकेट लिए ।
यो जितपछि लिग टू अंकतालिकामा स्कटल्यान्डले १८ खेलमा २२ अंक बनाएर अहिले चौंथो स्थानमा छ। पराजयका बाबजुद २२ खेलमा २६ अंक बनाएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ। नेपाल भने १४ खेलमा १० अंकका साथ सातौं स्थानमा छ।