रौनकको दोहोरो शतकमा लुम्बिनी प्रदेशकाे सानदार जित

जेष्ठ २१, २०८२ |खेल ब्युरो
रौनकको दोहोरो शतकमा लुम्बिनी प्रदेशकाे सानदार जित

काठमाडौं । टिवी शाह मेमोरियल कप यु-१६ राष्ट्रिय क्रिकेटमा रौनक श्रीवास्तवले दोहोरो शतक प्रहार गरेका छन। रौनकको दोहोरो शतकमा मंगलबार लुम्बिनी प्रदेशले गण्डकी प्रदेशविरूद्ध ३ सय ३२ रनको सानदार जित हात पारेको छ ।

सुर्खेतको वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४५ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै ४ सय ३ रनको योगफल तयार पारेको थियो । जवाफमा गण्डकी ७१ रनमा नै समेटिएपछि खेल लुम्बिनीले जितेको हो । 

लुम्बिनीका लागि रौनकले १ सय १७ बलमा समान १६ चौका र छक्काको मद्दतले सर्वाधिक २ सय १७ रन जोडेका थिए । यसैगरी लक्ष्मण कुमालले ७३ बलमा ६ चौकासहित ६० रनको अर्धशतकीय इनिङ्स खेले। 

आरिफ खानले २५, समीर अली मुसलमान र शुभम खनालले समान १७ रनको योगदान गरेका थिए। गण्डकीका बलरले किफायति बलिङ गर्न नसकेको भए पनि करण गैरेले तीन र राज परियारले दुई विकेट लिएका थिए । 

जवाफमा ४ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी २८ दशमलव २ ओभरमा ७१ रनमै समेटियो । गण्डकीका लागि आनिश राउले अविजित २२ र प्रतिश रावतले १४ रन बनाए। यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

लुम्बिनीका शुभम खनालले आठ ओभरमा चार मेडनसहित ९ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी रौनक श्रीवास्तवले दुई तथा लक्ष्मण कुमाल र सोएब हुसेन मुलसमानले समान एक-एक विकेट लिए । 

मंगलबार भएको अर्को खेलमा विपिन प्रसाद शर्माले पाँच विकेट लिएपछि कर्णालीले सुदूरपश्चिम प्रदेशविरुद्ध पाँच विकेटको जित हासिल गरेको छ।