काठमाडौं । पोर्चुगलले जर्मनीलाई २-१ गोलले पराजित गर्दै युएफा नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगल १-०ले पछि परेको स्थितिबाट खेलमा फर्किँदा क्रिस्टियानो रोनाल्डोले निर्णयक गोल गरे ।
म्युनिखस्थित एलियान्ज एरिनामा गएराति भएको सेमीफाइनलको पहिलो हाफमा जर्मनी हाबी भएको थियो । यसका बाबजुत ब्रेक अघिको खेल गोलरहित बराबरीमा सकियो ।
१९औं मिनेटमा जर्मनीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन् । २२औं मिनेटमा पोर्चुगलका गोलकिपर डिएगो कोस्टाले जर्मनीको अर्को प्रहारलाई विफल पारिदिएका थिए । ४८औं मिनेटमा घरेलु टिमले डेडलक तोड्यो ।
फ्लोरियन रिट्जले जोसुवा किमिखको सहयोगमा हेडर गोल गरेपछि जर्मनीले १-० गोलको अग्रता लिएको थियो । किमिखको राष्ट्रिय टिमबाट यो एक सयौं खेल पनि हो । तर पोर्चुगलले खेलमा उत्कृष्ट पुनरागमन गर्यो । ६३औं मिनेटमा फ्रान्सिस्को कान्सेसोले बराबरी गोल फर्काए ।
उनका लागि रूवेन डियासले बल उपलब्ध गराएका थिए । ६८औं मिनेटमा नुनो मेन्डेसको पासमा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २-१को जितका साथ फाइनलमा स्थान सुरक्षित गरेको हो ।
४० वर्षीय रोनाल्डोको राष्ट्रिय टिमका लागि यो १ सय ३७ औं गोल हो । उनले अहिलेसम्म पोर्चुगलबाट २ सय २० क्याप जितेका छन । रोबर्टो मार्टिनेजको टिमले सन २००० पछि पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा जर्मनीलाई हराएको हो ।
त्यसबेला जर्मनीलाई ३-०ले हराउँदा कान्सेसोको पिता सर्जियोले ह्याट्रिक गरेका थिए । पोर्चुगल नेशनस लिगको पहिलो संस्करण २०१९ को विजेता पनि हो । अब उसले फाइनलमा फ्रान्स र स्पेन बीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमीफाइनल आज राति हुनेछ ।