काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डी वाइल्ड नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले आज सामाजिक सञ्जाल मार्फत डी वाइल्डलाई महिला टिमको प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको हो ।
दुवै पक्षबीच एक वर्षको सम्झौतामा हस्ताक्षर भएको बताइएको छ । तर एन्फाले सम्झौता अवधिबारे अधिकारिक विवरण सार्वजनिक गरेको छैन ।
युएफा प्रो-लाइसेन्सप्राप्त डी वाइल्डले यसअघि नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सको प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकका रूपमा यो उनको पहिलो जिम्मेवारी हो ।
उनीसँग अल्जेरिया र हङ्गेरीको राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेको अनुभव छ । उनले चीनको यू-२३ महिला टोलीमा पनि सहायक प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
एन्फाले महिला टोलीको प्रशिक्षक पदका लागि प्रो-लाइसेन्ससहितको आवेदन आह्वान गरेको थियो । जहाँ २२ जनाले आवेदन दिएका थिए । अन्तिम चरणमा दुई जनाको नाम सर्टलिस्ट भएकोमा डी वाइल्ड चयनमा परेका हुन् ।
नेपाली महिला टोली हालै थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेलेर स्वदेश फर्केको छ । अब डी वाइल्डको प्रशिक्षणमा नेपालले महिला एसियन कप छनोट खेल्नेछ । नेपाल छनोट प्रतियोगिताको समूह एफमा छ । यस समूहमा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । समूह एफका खेलहरू असार १५ गतेदेखि उज्वेकिस्तानमा हुने छन् ।
नेपालले सोही दिन लाओससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । छनोटमा सहभागी ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । नेपाललाई समूह एफको शीर्ष स्थानमा राख्दै २०२६ मा अस्ट्रेलियामा आयोजना हुने महिला एसियन कपमा पहिलो पटक स्थान दिलाउने चुनौती डी वाइल्डलाई हुनेछ ।