नेपाली राष्ट्रिय पुरूष फुटवल टिमले आज हङकङसँग मैत्रीपुर्ण खेल खेल्दै

जेष्ठ २२, २०८२ |खेल ब्युरो
नेपाली राष्ट्रिय पुरूष फुटवल टिमले आज हङकङसँग मैत्रीपुर्ण खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरूष फुटवल टिमले आज हङकङसँग मैत्रीपुर्ण खेल खेल्दैछ । नेपाल एएफसी एसियन कपको छनोटको तयारीमा छ ।

हङकङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरू हुनेछ । हिजो भएको प्री-म्याच कन्फरेन्समा नेपाली टिमका प्रशिक्षक म्याट रसले हङकङलाई नजिकबाट नियालेको बताए । 

उनले एसियन कपको छनोट अघि हुने यो खेल आफुहरूका लागि महत्वपुर्ण रहेको प्रतिकृया दिएका छन । यो खेलमा देखिएको कमजोरी लाओससँग खेल्नु अघि सुधारको मौका रहने उनको भनाइ थियो । 

नेपालले हाइ अल्टिच्युडमा केही समय अभ्यास गरेको बताउँदै उनले टोली आगामी दुई खेलका लागि पूर्णरूपमा तयार रहेको प्रस्ट पारे । कप्तान किरण चेम्जोङले हङकङसँगको मैत्रीपूर्ण खेल लाओसविरूद्धको तयारी भएको जनाए । 

हङकङ यसै मैदानमा केहीदिन अघि इंग्लिस प्रिमियर लिग टिम म्यानचेष्टर युनाइटेडसंँग ३ एक गोल अन्तरले पराजित भएको थियो । हङकङ फिफा वरियतामा १ सय ५३ औं स्थानमा छ । नेपाल १ सय ७५ औं स्थानमा छ । 

आजको खेलमा स्ट्राइकर अन्जन बिष्ट सामु नेपालका लागि सर्वाधिक गोल गर्ने पुरूष खेलाडीको कीर्तिमान बनाउने अवसर पनि छ । उनले हरि खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गरेका छन ।