काठमाडौं । साउदी प्रो लिग क्लब अल हिलालले सिमोन इन्गाजीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
अल हिलालले विज्ञप्ति जारी गर्दै इन्गाजीसँगको सहकार्यबारे जानकारी दिएको हो । ४९ वर्षीय प्रशिक्षकसँग दुई वर्षका लागि सम्झौता गरिएको छ । दुवै पक्षबीच पेरिसमा हस्ताक्षर भएको उल्लेख छ । तर हिलालले सम्झौताबारे विस्तृतमा केहिपनि बताएको छैन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार क्लबले इन्गाजीलाई एक सिजनका लागि ३० मिलियन युरोभन्दा बढी रकम तिर्नेछ । सामाजिक सञ्जालमा हिलालले द इटालियन जिनियस भन्दै इन्गाजीलाई स्वागत गरेको छ ।
च्यापिम्यन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेन पीएसजीसँग इन्टर मिलानले ५-० गोलको हार बेहोरेपछि इन्गाजीले सिरी आ क्लबबाट जिम्मेवारीमुक्त हुने निर्णय गरेका थिए ।
इन्टरका लागि उनले एक सिरी आ दुई कोपा इटालिया सहित कुल ६ उपाधि जितेका छन । कीर्तिमानी १९औं पटक साउदी प्रो लिग र चार पटक एसियन च्याम्पियन्स लिग जितेको हिलालका लागि थप उपाधि दिलाउनु उनको प्रमुख काम हुनेछ ।
उनको पहिलो चुनौती क्लब विश्वकप हो । अमेरिकामा हुने क्लब विश्वकपमा हिलालले १८ जुनमा रियाल मड्रिडको सामना गर्नेछ ।