काठमाडौं । नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता 'टेक एन्ड पे' अर्थात् लिऊ र तिरमा मात्रै गर्ने भन्ने बजेटको व्यवस्था समयमै पुनरावलोकन नगरे जलविद्युत् आयोजना नै बन्द गर्ने चेतावनी ऊर्जा प्रवर्द्धकहरूले दिएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा उत्पादकहरूको संस्था इपानले बजेटको व्यवस्था तत्कालै संशोधन गरी ‘टेक अर पे’ अर्थात् लिऊ वा तिरमा पीपीए गर्ने व्यवस्था गर्न आग्रह गरेको हो । टेक एन्ड पेमा मात्रै पीपीए गरे विद्युत् प्राधिकरणले हिउँदमा मात्रै सम्पूर्ण बिजुली खरिद गरी वर्षात्मा खरिद नगर्ने जोखिम भएकाले यसमा तत्काल संशोधन गर्न माग गरेका हुन् ।
टेक एन्ड पेमा मात्रै पीपीए गर्दा बैंकबाट ऋण पाउन नसकिने उनीहरूको भनाइ छ ।
बजेटमा आएको यस्तो व्यवस्थाप्रति ऊर्जामन्त्री दीपक खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैले अनभिज्ञता जनाएका छन् । ऊर्जा उद्यमीहरू भने सरकारले लिएको यस्तो व्यवस्थाको जिम्मा लिन सुझाएका छन् । साथै जिम्मा नलिने भए मन्त्री पदबाट राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ ।
सरकारले टेक अर पेमा विद्युत् खरिद नगरे निजी क्षेत्रले आफैं विद्युत् व्यापार गर्ने बाटो खुला गरिदिनुपर्ने माग पनि ऊर्जा उद्यमीले राखेका छन् । अहिले विद्युत् व्यापार विद्युत् प्राधिकरणले मात्र गर्दै आइरहेको छ ।