नेपाल र हङकङबीचको खेल गोलरहित बराबरीमा

जेष्ठ २२, २०८२ |खेल ब्युरो
नेपाल र हङकङबीचको खेल गोलरहित बराबरीमा

काठमाडौं । ३७ वर्षपछि आमनेसामने भएका नेपाल र हङकङबीचको फुटबल खेल पुनः एक पटक गोलरहित बराबरीमा सकिएको छ । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल अन्तर्गत हङकङ स्टेडियममा दुवै टोलीले गोल गर्न सकेनन् ।

यसअघि दुई टोलीबीच भएको यसअघिको भिडन्त पनि बराबरीमा टुंगिएको थियो । सन् १९८८ मा दशरथ रंगशामा भएको एसियन कप छनोटको खेल पनि गोलरहित बराबरीमा सकिएको थियो ।

सुरुआतमा नेपालले मैदानमा राम्रो गति देखाए पनि खास ‘मुभ’ बनाउन सकेन । घरेलु टोलीले गोल गर्ने केही राम्रा अवसर बनाए पनि ‘डेडलक’ तोड्न सकेन । ४२ औं मिनेटमा हङकङका सोरेस जुनियरको प्रयास कप्तान किरण चेम्जोङले असफल पारेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

७४ औं मिनेटमा फर्नान्डो पेड्रियराको शक्तिशाली फ्रिकिक किरणले रोकेपछि नेपालका लागि खतरा टरेको थियो । अतिरिक्त समयमा मणि लामालाई दोस्रो पहेँलो कार्ड देखाएपछि नेपाल अन्तिम केही मिनेट १० खेलाडीमा सीमित भएको थियो ।

दुवै टोलीले एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत तेस्रो चरणको तयारीका लागि एक अर्काविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका हुन् । छनोट अन्तर्गत समूह एफमा रहेको नेपालले आगामी मंगलबार लाओससँग खेल्ने छ । सोही दिन समूह सीमा रहेको हङकङले भारतको सामना गर्ने छ ।