जोकोभिच फ्रेन्च ओपनकाे सेमीफाइनलमा प्रवेश

जेष्ठ २२, २०८२ |खेल ब्युरो
जोकोभिच फ्रेन्च ओपनकाे सेमीफाइनलमा प्रवेश

काठमाडौं । नोभाक जोकोभिच जारी फ्रेन्च ओपनमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दै सेमीफाइनलमा प्रवेश गरेका छन् ।

सर्वियाका जोकोभिचले अन्तिम आठको प्रतिस्पर्धामा तेस्रो वरियताका अलेक्जेन्डर ज्वेरेभलाई चार सेटमा पराजित गरेका हुन् । हाल विश्व वरियताको छैटौं स्थानमा रहेका तीन पटकका च्याम्पियन जोकोभिचले पहिलो सेट साविक उपविजेतासंग ४-६ ले गुमाएका थिए । तर विश्व नम्बर तीन ज्वेरेभविरूद्ध बाँकी सेटमा जोकोभिचले आफ्नो सुप्रिमेसी प्रस्तुत गरे । 

३८ वर्षीय उनले दोस्रो सेट ६-३ ले जित्दै पुनरागमन गरेका हुन् । तेस्रो सेटमा ज्वेरेभलाई ६-२ ले हराएपछि जोकाभिच जिततर्फ उन्मुख भएका थिए । चौथो सेट ६-४ ले आफ्नो पक्षमा पार्दै उनी उपाधि नजिक पुगेका हुन् । 

जोकोभिच ग्रान्डस्लामको सेमीफाइनल पुगेको यो कीर्तिमानी ५१ औं पटक हो । कुनै समय जोकोभिच, रफायल नाडाल र एन्डी मर्रेको उत्तराधिकारीका रूपमा हेरिएका ज्वेरेभ लगातार पाँचौ वर्ष रोल्यान्ड ग्यारोसमा अन्तिम चारमा पुग्ने लक्ष्यमा थिए । तर जोकोभिचलाई १३ औं पटक फ्रेन्च राजधानीमा सेमीफाइनल पुग्नबाट रोक्न सकेनन् । 

यी दुइ बीचको खेल तीन घन्टा १७ मिनेटसम्म चलेको थियो । क्लेमा १०१ खेल जितेका जोकोभिचले अब फाइनल प्रवेशका लागि विश्व नम्बर एक यानिक सिनरसँग खेल्नेछन् । 

जोकोभिच महिला तथा पुरूष दुवैको एकलतर्फ सर्वाधिक २५ ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी बन्नबाट मात्र दुई खेलले पछि छन । यदी फ्रेन्च ओपन जिते उनले यो दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाउनेछन् ।