अभाव र संघर्षबीच ऐतिहासिक सफलता : कास्य जित्ने एरिकाको प्रेरणादायी यात्रा

जेष्ठ २१, २०८२ |खेल ब्युरो
अभाव र संघर्षबीच ऐतिहासिक सफलता : कास्य जित्ने एरिकाको प्रेरणादायी यात्रा

काठमाडौं । सीमित पूर्वाधार र कठोर चुनौतीबीचको अभ्यासले अन्तर्राष्ट्रिय कराते मञ्चमा ऐतिहासिक सफलता प्राप्त गर्न सफल खेलाडी हुन् एरिका गुरूङ । 

मोरक्कोको कराते वान प्रिमियर लिगमा नेपाली पहिचान स्थापित गर्दै हालै ऐतिहासिक कांस्य पदक जित्न सफल उनको संघर्ष सबैका लागि प्रेरणा बनेको छ । कसरी सम्भव भयो त उनको कराते वान प्रिमियर लिगसम्मको यात्रा ?

साँघुरो पूर्वाधार, तर विशाल सपना । भिजेको म्याट, उज्यालो आत्मबल । यिनै चुनौतीका बीच एकपछि अर्को सफलताको मार्गमा अघि बढिरहेकी छन । हिमालयन वारियर अर्थात् एरिका गुरूङ । 

मोरक्कोको राबात सहर, कराते वान प्रिमियर लिगको भव्य मञ्च जहाँ विश्वका उत्कृष्ट ३२ खेलाडी भिडिरहेका थिए । पहिलो पटक त्यो मञ्चमा नेपाली अनुहार देखियो, जहाा महिला ६८ केजीमाथिको तौल समूहमा फ्रान्सकी क्लेमेन्स पिएलाई ६-२ ले पछि पार्दै एरिका गुरूङले ऐतिहासिक कास्य पदक जितिन् । यो जितमात्र थिएन, हामी पनि सक्छौ भन्ने सन्देश थियो । कसरी सम्भव भयो त कराते वान प्रिमियर लिगमा एरिकाको यात्रा ?

एरिकाको जित कुनै आकस्मिक आश्चर्य थिएन, वर्षाै अघिदेखि शुरू भएको यात्राको नतिजा थियो । जब उनले पानी चुहिने छानामुनि, पुरानो डोजोमा, चिसो फर्समा प्रशिक्षण गर्थिन् । 

नरोकिनु, अभ्यास गरिरहनु उनको विषेशता थियो । एसियाली खेलकुदमा ऐतिहासिक रजत, एशियन कराते च्याम्पियनसिपको रजत, युएस ओपनको स्वर्ण र रजत, सितोरियो च्याम्पियनसिप र कराते वान प्रिमियर लिगको पदक । 

एरिकाले पछिल्ला २ वर्षमा नेपाललाई ९ पदक जिताइसकेकी छन । उनी जहाँ गएकी छन नेपालको झण्डा फहराएकी छन । विश्वस्तरीय प्रशिक्षण र पुर्वाधार भएको भए एरिकाले पक्कै पनि थप सफलता हात पार्थिन् होला ।

इतिहास रचेपछि जव एरिका स्वदेश फर्किइन्, त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरियो । सँगै उनको जितको सन्देश थियो-अब राज्यले एरिकाजस्तै क्षमतावान खेलाडी उत्पादन गर्न राम्रो लगानी गर्नु पर्छ । सही मार्गनिर्देशन दिनु पर्छ । नत्र निकै अवेर भइसक्ने छ ।