काठमाडौं । हिमालयन जाभा बास्केटबल लिगमा टाइम्स बास्केटबल क्लब र रोयलले जित हात पारेका छन । कीर्तिपुर कभर्डहलमा गएराति भएको खेलमा टाइम्सले सामाखुसी युथ क्लबलाई ९७-७३ ले पराजित गरेको हो ।
टाइम्सले सामुखसीमाथि चारै क्वार्टरमा दबाब बनाउँदै अग्रता लिएको थियो । टाइम्सले पहिलो क्वार्टर २०-१५ र दोस्रो क्वाटर २८-२४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४८-३९ को अग्रता बनाएको थियो । तेस्रो क्वार्टर टाइम्सले २३-२१ ले आफ्नो पक्षमा पार्यो ।
चौंथो क्वार्टर २५-१३ ले सहजै आफ्नो पक्षमा पार्दै टाइम्सले फराकिलो जित हात पारेको हो । टाइम्सका लागि सदिश प्रधानले सर्वाधिक ३३ अंक स्कोर गरे । सामाखुसीका प्रज्वल महर्जनले २१ अंक जोडे । टाइम्सका मनिष केसी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । यो जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्स फाइनल पुग्ने होडमा कायम छ ।
टाइम्सले अब लिगको अन्तिम खेल हाउण्ड्ससँग खेल्न बाँकी छ । एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि समान १५ अंक नै छ । गोल्डेनगेट र हाउण्ड्सले लिगमा दुई खेल खेल्न बाँकी छ ।
यस्तै गएरातिको दोस्रो खेलमा रोएलले कीर्तिपुरलाई ९९-९६ ले पराजित गर्यो । पहिलो क्वार्टरमा कीर्तिपुरले २६-२५ को अग्रता बनायो । तर रोयलले दोस्रो क्वार्टरमा पुनरागमन गर्दै हाफटाइममा ५३-४७ को अग्रता बनायो ।
तेस्रो क्वार्टर रोएलले २०-१७ ले आफ्नो पक्षमा पार्यो । यस्तै चौंथो क्वार्टरमा कीर्तिपुरले ३२-२६ को अग्रता लिए पनि हार टार्न सकेन । ९६-९६ स्कोर हुँदा रोएलका सुजन महर्जनले थ्री प्वाइन्ट स्कोर गर्दै खेल जिताए ।
सुजन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । तेस्रो जितपछि ९ खेलबाट १२ अंक जोडेको रोएल कीर्तिपुरलाई नै पछि पार्दै चौंथो स्थानमा उक्लिएको छ । लिगमा आज बुधबार शीर्ष दुई टोली गोल्डेनगेट बास्केटबल क्लब र हाउण्ड्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।