झण्डै ४ किलोमिटर सडक ५ वर्षदेखि स्तरोन्नतीको काम नहुँदा यात्रु तथा सवारी चालकले सास्ती खेप्नु परेको हो । पाल्पाको दोभानदेखि एक किलोमिटर क्षेत्र सडक डिभिजन पाल्पा र बाँकी तीन किलोमिटर निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले काम गर्दै आएको छ ।
यस क्षेत्रमा सुरूङ निर्माणको काम अघि बढेपनि राजमार्गको सबै कालोपत्र उप्किएर खाल्डा-खुल्डी बनेको छ भने वर्षायाममा खसेको पहिरोले हिउँदमा धुलाम्मे बनाएको छ ।
कतिपयस्थानमा कल्भर्ट बनाएकाले पनि थप धुलाम्मे र हिलाम्मे बनेको छ । निर्माण कम्पनीले पानी राख्दा मोटरसाइकल, स्कुटी चिप्लिएर दुर्घटनाको खतरा झन् बढेको छ ।
त्यहाँ यात्रा गर्ने यात्रुका लागि हिउँद र वर्षा जहिलेसुकै सास्ती खेप्नुपर्ने बाध्यता छ । पैदल यात्रु होस् वा सवारीमा यात्रा गर्दा सास्ती खेप्नु परेको गुनासो नागरिकले गर्दै आएका छन ।
सिद्धबाबा सडक खण्डमा क्षेत्रमा यात्रा गर्दा श्वासप्रश्वासको समस्या हुन्छ भने अगाडिको गाडी नदेखिँदा दुर्घटनाको जोखिम पनि उत्तिकै हुने गरेको छ । मोटरसाइल, स्कुटीका साथै पैदल यात्रीले धुलोले आँखा रसाउने, लगाएका सबै कपडा धुलाम्मे हुने, रेनकोट नलगाई यात्रा गर्न समस्या हुने गरेको छ ।