बैंगलुरूले १८ वर्षपछि जित्यो आईपीएलको उपाधि

उपाधि जित्ने सातौं टिम बन्यो बैंगलुरु
जेष्ठ २१, २०८२ |खेल ब्युरो
बैंगलुरूले १८ वर्षपछि जित्यो आईपीएलको उपाधि

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरू १८ वर्षपछि इन्डियन प्रिमियर लिग-आईपीएलमा आफ्नो पहिलो उपाधि जितेको छ। गएराति भएको फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गरेर बैंगलुरूले हिलो उपाधि जितेको हो। यता पञ्जाब भने अझैंसम्म पहिलो उपाधि जित्नबाट बञ्चित छ।

नरेन्द्र मोदी क्रिकेट रंगशाला अहमदाबादमा पञ्जाबले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा आएको आरसीबीले निर्धारित २० ओभरमा नौं विकेट गुमाएर एक सय ९० रन बनाएको थियो। 

आरसीबीका ओपनर फिल साल्ट ९ बलमा १६ रन बनाएर आउट भएका थिए। मयंक अग्रवालले २४ रनको योगदान गरेसँगै उनले विराट कोहलीसँग ३८ रनको साझेदारी गर्न सफल भएका थिए। 

दोस्रो विकेट गुमाउँदा ५६ रन जोडेको आरसीबी सहज अवस्थामा पुगिसकेको थिएन। पूर्व कप्तान विराट कोहोलीलाई ४३ रन बनाएको अवस्थामा अजमतुल्लाह उमरजाईले कट एन्ड बोल्ड गरे। कप्तान रजत पाटीदारले १६ बलमा २६ रन बनाए । लियम लिविङ्स्टोन १ सय २५, जितेश शर्मा २४ तथा रोमारिया शेफर्ड १७ रनमा आउट भएका थिए । 

पञ्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ विकेट लिएका थिए। उमरजाई विजय कुमार वैशाख र युजभेन्द्र चहलले १-१ विकेट आफ्नो नाममा गरेका थिए ।

जवाफमा सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ८४ रन मात्र बनायो । पञ्जाबका ओपनर प्रियाशं आर्य २४ रनमा आउट भएका थिए। 

प्रभसिमरन सिंह २६ रन बनाए भने इङ्लिसले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३९ रन जोडे । शीर्ष तीन खेलाडी आउट हुँदा उसले ७९ रन बनाइसकेको थियो। तर, मध्यक्रम चल्न नसक्नु पञ्जाबको लागि दुर्भाग्य बन्यो। त्यसपछि शंसाक सिंहले ३० बलमा ३ चौका र ६ छक्कासहित सर्वाधिक ६१ रन बनाए ‌। 

उनलाई साथ दिने खेलाडी नहुनु नै पञ्जाबको हारको कारण बन्यो। कप्तान श्रेयस अयरसमेत दोस्रो बलमा नै १ रन मात्रै बनाएर आउट भए । निहाल बढेरा १५ रन जोडे । आरसिबीका लागि भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ तथा रोमारियो शेफर्ड, जोस हेजलवुड र यश दयालले समान एक विकेट लिए ।

लिग चरणमा पञ्जाब पहिलो र ‌आरसीबी दोस्रो स्थानमा रहेर प्ले अफमा पुगेका थिए । यी दुई टोलीले पहिलो क्वालिफायर खेलेका थिए । जसमा पञ्जाबलाई हराउँदै आरसीबी फाइनलमा पुगेको थियो । 

पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै पुनः आरसीबीसँगको भेट पक्का गरेको थियो । आरसीबी च्याम्पियन भएसँगै आईपीएलले ८औं च्याम्पियन टिम पाएको छ । 

यसअघि ७ टोलीले आईपीएल जितेको छ। यसअघि चेन्नई सुपर किंग्स ५ पटक, मुम्बई इन्डियन्स ५ पटक, कोलकाता नाइट राइडर्स ३ पटक, साथै राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात जायन्ट्स १-१ पटक च्याम्पियन बनिसकेका छन। 

आरसीबी चौथो पटकको प्रयासमा च्याम्पियन भएको हो । यसअघि आरसीबी फाइनलमा तीन पटक पराजित भएको थियो। यता, २०१४ को फाइनलमा पञ्जाब कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।