काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएका छ ।
नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको 'पूर्वाधारमा बजेट कार्यान्वयन' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बजेटको विश्वसनीयता कायम राख्दै वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले विगतमा पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकेको स्वीकार गर्दै चालु आर्थिक वर्षमा यसमा सुधार ल्याउने दृढता व्यक्त गर्नु भयो ।
उहाँले सानाठूला सबै आयोजनाहरूमा स्रोतको सही सदुपयोग र जवाफदेहिता सुनिश्चित गरिने जिकिर गर्नु भयो । अर्थमन्त्री पौडेलले तीन करोडसम्मका आयोजनामा देखिएका समस्या र सार्वजनिक खरिद ऐनका केही प्रावधानले पारेको अप्ठ्यारोबारे सरकार सचेत रहेको र आवश्यक सहजीकरणका लागि प्रयासरत रहेको पनि बताउनुभयाे ।
अर्थमन्त्री पौडेलले निर्माण सामग्री, विशेषगरी बालुवा र गिट्टी जस्ता स्रोतहरूको सहज उपलब्धता नहुँदा पूर्वाधार आयोजनाहरूको प्रगतिमा बाँधा पुगेको स्वीकार गर्दै निर्माण सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।
अर्थमन्त्रीले पूर्वाधार विकासमा देखिएका चुनौतीहरूको सामना गर्दै नतिजामुखी काम गर्न आफू र आफ्नो मन्त्रालय दत्तचित्त भएर लाग्ने बताउनु भयो ।