पीएसजीलाई पहिलो ऐतिहासिक उपाधि, पेरिसवासीको दशकौं पुरानो सपना साकार

जेष्ठ १९, २०८२ |विनयज्योति सापकोटा
पीएसजीलाई पहिलो ऐतिहासिक उपाधि, पेरिसवासीको दशकौं पुरानो सपना साकार

काठमाडौं । सन् २०११, पेरिस सेन्ट जर्मेन पीएसजीको बार्डमा केही नयाँ कुरा हुँदै थियो । उसले नयाँ मालिक पाउँदै थियो - त्यो पनि विदेशी । 

सन् १९९७ मा पेट्रोलियम पदार्थ विदेशमा बिक्री गर्न थालेपछि धनी बनेको देश कतारले खेलमा ठूलो मात्रामा लगानी बढाइरहेको अवस्थामा  फ्रान्सको एक सामान्य हैसियतको क्लबमा लगानी गर्न पुगेको थियो । 

पीएसजीको भविष्य त्यसपछि नै बदलिएको हो । कतारी अमिर तामिम बिन हमाम अल थानीको सीधा निर्देशनमा चल्ने कतार स्पोट्स लगानी कोषले त्यसपछि पिएसजीमा धमाधम स्टार खेलाडी अनुबन्ध गर्न थाल्यो । त्यसअघि दुई पटक मात्रै लिग वानको उपाधि जितेको पीएसजीले त्यसयता ११ पटक घरेलु लिग च्याम्पियन बनिसको छ । कतारले लगानी बढाएपछि उसको एकमात्रै उद्देश्य थियो युरोपको एलिट प्रतियोगिता च्याम्पियन्स लिग जित्नु ।

सन् १९५७ मा स्थापना हुँदा यो क्लबको सेयर २० हजार फ्रान्सेलीसँग थियो । क्लबलाई व्यवसायिक बनाउने सन्दर्भमा धेरै मालिक फेरिए । तर पीएसजीको भाग्य फेरिएन । तर केही नयाँ गर्नुपर्छ भन्ने क्लबका अध्यक्ष नासेर अल खिलाफीलाई लाग्यो । र, उनले स्टार ज्वालटन इब्राहिमोविचलाई भित्र्याए । 

विश्वकपको फाइनलमा गोल गर्ने दुई मध्येका एक टिनएजर केलियन एम्बाप्पेलाई क्लबमा राखिरहे । सन् २०१५ मा बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएका नेयमारलाई विश्व कीर्तिमानी मूल्यमा किने । लियोनेल मेस्सीलाई समेत क्लबमा भित्र्याएपछि सबैलाई लागेको थियो । पीएसजीले च्याम्पियन्स लिग जित्छ ।

पीएसजी सन् २०२० को च्याम्पियन्स लिगको फाइनलमा नपुगेको पनि होइन् । तर बायर्नसँग पराजित भयो । त्यसपछि सायद उसलाई लाग्यो स्टार खेलाडी मात्रै भएर लिग जितिन्न रहेछ । त्यसैले होला उसले नेयमारलाई साउदी जान अनुमति दियो र मेस्सीलाई अमेरिका । क्लब कहिल्यै नछोड्नु भनेर ठूलो मूल्य चुकाइरहेको केलियन एम्बाप्पेलाई भने उसले जोगाउन सकेन् । अनि स्टार खेलाडीको लिगेसी तोडियो ।

यही सिजनको सुरूआतको कुरा हो- पीएसजीका समर्थक बेचैन थिए । उनीहरूलाई लागेको थियो- अब आफ्नो प्रीय क्लबले के गर्ला ? प्रशिक्षक अनुबन्ध भएका थिए स्पेनका लुईस एनरिके । एनरिकेले बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएका छन भने स्पनेलाई विश्वविजेता बनाएका छन ।

केलियन एम्बाप्पे युगपछि प्रशिक्षक एनरिकेले क्लबको नयाँ परिचयको निर्माण गरे । उनले आफ्नो कार्यकालको सुरूमा नै खेलाडीहरूसँग कडा अभ्यास, रणनीतिक अनुशासन र सामूहिक जिम्मेवारीको माग प्रस्तुत गरे । खेल रणनीति नै फरक बनाए । फ्रान्सेली च्याम्पियन क्लब सुपरस्टारमा भर नपर्ने संरचनामा रूपान्तरण गरे । च्याम्पियन्स लिगमा पटक पटकको निराशालाई शक्तिमा बदले । त्यसैअनुरूप उसले उत्कृष्ट खेल प्रस्तुत गरेर शनिबार उपाधि बहुप्रतिक्षित च्याम्पियन्स लिग जित्यो ।

जर्मनीको बायर्नमा भएको फाइनलमा उसले इटालियन जायन्ट इन्टर मिलानलाई ५-० गोलले पराजित गर्यो । र, पहिलो ऐतिहासिक उपाधि कब्जा गर्यो । पीएसजीले घरेलु लिग र कपको उपाधि जितिसकेकोले उसले च्याम्पियन्स लिग जितेर ट्रिबल गरेको छ । यो उपाधि पेरिसवासीको वर्षौादेखिको सपना साकार भएको क्षणसमेत हो । आधा शताब्दी लामो पखाईले गन्तव्य पाएको छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।