काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा समूह 'बी' मा परेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा आज भएको ड्रमा १९ टोलीलाई ५ समूहमा विभाजन गरिएको थियो । ४ समूहमा ४-४ टोली र एउटामा ३ टोली सामेल छन् ।
नेपालको घरेलु महिला लिग च्याम्पियन एपीएफ सम्मिलत समूह ‘बी’मा साउदी अरेबियाको अल नासर, उज्वेकिस्तानको पि-एफसी नसाफ र थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स समावेश छन् । गत संस्करणको छनोटमा पनि पि-एफसी नसाफ र एपीएफ एकै समूहमा थिए । सो सिजन एपीएफ, पि-एफसी नसाफसँग १-० ले पराजित भएको थियो । बाँकी दुई टोलीसँग भने एपीएफले पहिलो पटक प्रतिस्पर्धा गर्नेछ । हरेक समूह विजेताले प्रतियोगिताको मुख्य ड्रमा स्थान बनाउने छन् । मुख्य चरणमा ७ टोली सामेल छन् । प्रारम्भिक चरणबाट ५ टोली अघि बढ्ने छन् । मुख्य चरणमा १२ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रारम्भिक चरणका खेलहरू अगस्ट २३ देखि ३१ सम्म सञ्चालन हुनेछन् । एपीएफ सम्मिलित समूह ‘बी’का खेलहरू उज्वेकिस्तानमा आयोजना हुनेछन् ।