काठमाडौं । नेपाली युवा टोली अपराजित रहँदै एसीसी पुरूष अन्डर-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गरेको हो । मलेसियाको क्वालालाम्पुरस्थित सेलेगंर टर्फमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको घरेलु टोली मलेसिया ४३ ओभर एक बलमा ९० रनमा अल आउट भएको थियो ।
मलेसियाले २८ रनमा शीर्ष चार ब्याटर गुमाएको थियो । मोहम्मद फातुलले सर्वाधिक ३८ रन जोडे । उसका ९ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागी अभय यादवले चार र सुभम खनालले तीन विकेट हात पारे । विपिन शर्मा र सचिन भट्टले एक-एक विकेट बाँडे ।
९१ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा केबल १ विकेट गुमाएर पुरा गर्यो । ओपनर प्रशिद्ध जैशी २ रन बनाएर क्याच आउट भए पनि शिवांश बजगाईं र परिमार्जन यादवले ४५ बलमा ७५ रनको आक्रामक अविजित साझेदारी गर्दै नेपाललाई फाइनल सम्म पुर्याए । परिमार्जनले ३५ बलमा ५ चौका र ५ छक्कासहित ५९ रनको आक्रामक अर्धशतकीय योगदान दिए । शिवांश २३ रनमा नटआउट रहे ।
साविक विजेता नेपालले अव उपाधिका लागि शनिबार सिङ्गापुरसँग प्रतिस्पर्धा गर्ने छ । आजै सम्पन्न अर्को सेमिफाइनल खेलमा सिङ्गापुरले हङकङलाई ४ विकेटले पराजित गरेको थियो । सोही दिन हङकङ र मलेसियाले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।