आईसीसी विश्वकप लिग टु : नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

जेष्ठ १९, २०८२ |खेल ब्युरो
आईसीसी विश्वकप लिग टु : नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । पोर्थहिल क्रिकेट ग्राउण्डमा खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स समेत सहभागी छ ।

लिग टूको आफ्नो चौथो त्रिकोणात्मक सिरिजका लागी स्कटल्यान्ड पुगेको नेपाली टोली ७ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा फर्किन लागेको हो । नेपालले अमेरिकामा २०२४ नोभेम्बर ४ मा स्कटल्यान्डविरूद्ध आफ्नो अन्तिम खेल खेलेको थियो । सो खेल वर्षाका कारण रद्द भएको थियो ।

मुख्य प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । उनले यसअघि अमेरिकालाई टी-२० विश्वकपको सुपर ८ मा पुर्याएका थिए। हङकङ सिरिजमा भने अन्तरिम प्रशिक्षकको रूपमा ज्ञानेन्द्र मल्लले टोली सम्हालेका थिए ।

नेपाल र स्कटल्यान्डबीच हालसम्म भएका ८ ओडिआई खेल खेलिएका छन । जसमध्ये नेपालले ४ जितेको छ भने स्कटल्यान्डले ३ खेल जितेको छ । अन्तिम चार मध्य नेपालले लगातार ३ खेल जित्दा एक खेल वर्षाका कारण रद्द भएको थियो । आईसीसी वरियतामा स्कर्टल्यान्ड १३औं र नेपाल १७औं स्थानमा छ ।

यसै सिरिजको तयारीका लागी नेपालले स्कटल्याण्ड 'ए' सँग दुई अभ्यास खेल खेलेको थियो । नेपाल पहिलो अभ्यास खेलमा पराजित भएको थियो भने दोस्रो खेल वर्षाले प्रभावित भएको थियो । त्यसअघि यूके भ्रमणमा नेपालले ५ अभ्यास खेलमा शतप्रतिशत जित हात पारेको थियो ।

नेपालले आफ्नो दोस्रो खेलमा बुधबार नेदरल्यान्डससँग खेल्ने छ । त्यसपछि जेठ २५ गते पुनः स्कटल्यान्ड र त्यसको २ दिनपछि नेदरल्यान्डससँग प्रतिस्पर्धा गर्नेछ । असार १ बाट तिन वटै राष्ट्रबीच त्रिकोणात्मक टी-२० आई सिरिज सुरू हुनेछ ।

लिग २ मा १२ मध्य केवल २ जित हात पारेको नेपाल ६ अंक सहित पुछारमा छ । १६ अंक सहित स्कटल्यान्ड चौंथो र २० अंकसहित नेदरल्यान्डस दोस्रो स्थानमा छ ।