प्रधानमन्त्री ओलीसँग संक्रमणकालीन न्यायसम्बन्धि दुई आयोगका पदाधिकारीको छलफल

जेष्ठ २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओलीसँग संक्रमणकालीन न्यायसम्बन्धि दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरू नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका चुनौती, बजेट र पूर्वाधारका लागि सरकारसँगका अपेक्षाबारे प्रस्तुति गर्नुभएको थियो । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धि सल्लाहकार अग्नि खरेल, महान्यायाधिवक्ता रमेश बडालसहित सहभागी छलफलमा सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका लीलादेवी गड्तौला, आयोगका सदस्यहरू र सचिवहरू सहभागी हुनुहुुन्थ्यो ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई पीडितलाई केन्द्रमा राखेर निष्कर्षमा लाने विषयमा सरकारको आवश्यक सहयोग हुने विश्वास दिलाउँदै अन्य काममा कुनै सरकारको दबाब र हस्तक्षेप नहुने स्पष्ट गर्नुभयो । 

“तपाईँहरू कसैको दबाबमा नपर्नुस् । स्वतन्त्र, निष्पक्ष र निडरताका साथ काम गर्नुस् र सरकारले कुनै हस्तक्षेप र दख्खल गर्दैन । आवश्यक सहयोग गर्छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो । दुवै आयोगमा यही जेठ ४ गते पदाधिकारी नियुक्त भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.