म्युनिकमा च्याम्पियन्स लिगको फाइनल खेल हुँदै, उपाधिका लागि पीएसजी र इन्टर मिलान भिड्दै

जेष्ठ १७, २०८२ |खेल ब्युरो
म्युनिकमा च्याम्पियन्स लिगको फाइनल खेल हुँदै, उपाधिका लागि पीएसजी र इन्टर मिलान भिड्दै

काठमाडौं । जर्मनीको म्युनिक सहरमा आज युएफा च्याम्पियन्स लिग २०२५ को फाइनल खेल आयोजना हुँदैछ। फाइनलमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट-जर्मेन पीएसजी र इटालियन जायन्ट इन्टर मिलानबीच उपाधि भिडन्त हुनेछ ।

पेरिस सेन्ट जर्मेन पीएसजीले केलियन एम्बाप्पे युगपछि प्रशिक्षक लुइस एनरिकेले क्लबको नयाँ परिचयको निर्माणमा गरिरहेका छन। यसपटक एनरिकेको खेल रणनीति फरक रूपमा छिट्टै सफल भएको देखिएको छ। 

च्याम्पियन्स लिगमा पटक-पटकको निराशाजनक यात्रापछि, अब पीएसजी युरोपको प्रतिष्ठित क्लब प्रतियोगिताको फाइनलमा आजराति पौने १ बजे इटालिको इन्टर मिलानसँग भिड्दैछ।

नेयमारको बिदाइ र लियोनेल मेस्सीको छोटो पेरिस बसाइपछि, एम्बाप्पे पिएसजीको अनुहार बनेका थिए। तर अहिले, लुइस एनरिकेले फ्रान्सेली च्याम्पियन क्लबलाई सुपरस्टारमा भर नपर्ने संरचनामा रूपान्तरण गरेका छन। 

एनरिकेले आफ्नो कार्यकालको सुरूमा नै खेलाडीहरूसँग कडा अभ्यास, रणनीतिक अनुशासन र सामूहिक जिम्मेवारीको माग प्रस्तुत गरेका थिए। त्यसैअनुरूप उसले उत्कृष्ट खेल प्रस्तुत गरेर उपाधि नजिक पुगेको छ। 

पीएसजीले घरेलु लिगको उपाधि जितिसकेको छ। क्लबले आफ्नो कीर्तिमानी १६ औं फ्रेन्च कप पनि जितेको थियो। यदी उसले आज पनि खेल जिते सिजनमा ट्रिबल जित्नेछ। यता, यो सिजन इन्टर मिलानका लागि धेरै आशा जागृत गर्ने खालको थियो। 

 इटालियन क्लबका लागि यो अन्तिम मौका जस्तै बनेको छ। सिमोने इन्जागीको अनुभवी टोलीले यसपटक मात्र लिग उपाधि गुमाएन । दुई वर्षअघि इस्तानबुलमा म्यान्चेस्टर सिटीसँग गुमाएको फाइनलको बदला लिन पनि चाहन्छ। 

क्लबका केही सिनियर खेलाडीका लागि यो नै अन्तिम ठूलो मौका हुनसक्छ। गत साता मात्र, लिगको अन्तिम खेलमा घरेलु लिगको उपाधि नापोलीले जित्दा इन्टरका खेलाडीहरू मैदानमै घुँडा टेकेर निराश भएका थिए। त्यस्तो अवस्थाबाट टोलीलाई फेरि मनोबल उच्च बनाउन प्रशिक्षक इन्जागीको चुनौती थियो। तर अब टोली फाइनलको लागि तयार भएको छ।

केही महिना अघि सम्म इन्टरले 'ट्रिबल’ को चर्चा गरिरहेको थियो। उसले युरोपमा राम्रो प्रदर्शन गर्दै सिरी ए मा पुनरागमनको संकेत दिएका थिए र कोप्पा इटालियाको सेमिफाइनलमा पनि पुगेका थिए। तर अप्रिलको तीन खेलको खराब नतिजाले यो सबै सपना भत्काइदियो। 

यद्यपि उसलाई आज युरोपको सबैभन्दा एलिट प्रतियोगिता जित्ने अवसर छ। फाइनल म्युनिकस्थित जर्मन रेकर्ड च्याम्पियन बायर्न म्युनिकको घरेलु मैदान एलियान्ज एरेनामा खेलिनेछ। सन् २००५ मा उद्घाटन गरिएको यो रंगशालाले विश्वकप, युरोकप र च्याम्पियन्स लिग फाइनलहरू समेत आयोजना गरिसकेको छ ।