काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२५ को लिग चरणको अन्तिम खेल आज लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरू प्रतिस्पर्धा गर्दै छन । यो महत्त्वपूर्ण भिडन्त लखनऊस्थित भारत रत्न श्री अटल बिहारी वाजपेयी इकाना क्रिकेट स्टेडियममा राति पौने ८ बजे सुरू हुनेछ ।
दुबै टोलीले यस सिजन पहिलो पटक एकअर्काविरूद्ध खेल्दै छन । आरसीबीको लक्ष्य प्लेअफको शीर्ष २ मा रहँदै पहिलो क्वालिफायर्समा स्थान बनाउने छ । यसका लागी आरसीबीलाई आजको खेल जित्नैपर्ने दबाब छ । अर्कातर्फ एलएसजी भने प्रतियोगिताबाट बाहिरी सकेको छ । ऊ जितका साथ सिजनलाई सम्मानजनक विदाई दिन चाहन्छ ।
आरसीबीले १३ खेलमा ८ जित र ४ हारसहित १७ अंक जोडेको छ र तेस्रो स्थानमा छ । आजको खेल जिते ऊ शीर्ष २ मा रहँदै लिग समाप्त गर्नेछ । एलएसजीले भने १३ खेलमा ६ जित र ७ हारसँगै १२ अंक जोडेको छ । आजको खेल जितेमा ऊ सनराइजर्स हैदराबादलाई पछिपार्दै छैटौँ स्थानमा रहेर लिग समाप्त गर्नेछ ।
आईपीएल इतिहासमा एलएसजी र आरसीबीबीच ५ खेल भएका छन । जसमा आरसीबीले ३ खेल जितेको छ भने एलएसजीले २ खेलमा जित निकालेको छ । सन् २०२४ को सिजनमा दुबै टोलीबीच १ मात्र खेल भएको थियो । जुन एलएसजीले २८ रनले जितेको थियो ।
एलएसजीका ओपनरहरू मिचेल मार्श र एडेन मार्करम सानदार लयमा छन । पछिल्लो खेलमा एलएसजीले गुजरातलाई ३३ रनले हराएको थियो । जहाँ मार्शले शतक ११७ रनको शतकीय इनिङ्स खेलेका थिए भने पूरनले अर्धशतक प्रहार गरेका थिए ।
मार्श यस सिजनको चौथो सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १२ इनिङमा ५६० रन बनाएका छन । मार्करमले पनि १३ इनिङमा ४ सय ४५ रन बनाएका छन । बलिङमा दिग्वेश राठीले १२ खेलमा १४ विकेट लिएका छन । एक खेलको प्रतिबन्द्ध पछि उनी यस खेलका लागि उपलब्ध हुने छन । उनलाई शार्दुल ठाकुर, रवि बिश्नोई र आवेश खानले साथ दिनेछन ।
आरसीबीका विराट कोहली उत्कृष्ट फर्ममा छन । उनले १२ इनिङमा ७ अर्धशतकसहित ५ सय ४८ रन बनाइसकेका छन । बलिङमा जोश हेजलवुड टोलीमा पुनः फर्किएका छन । १० इनिङमा १८ विकेट लिएका हेजलवुड केही समय अस्ट्रेलिया फर्किएका थिए ।