जेठ १५ मा देशव्यापी उत्सव मनाउने एमालेको निर्णय

जेष्ठ ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेठ १५ मा देशव्यापी उत्सव मनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)ले आगामी जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाउने निर्णय गरेको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्न आह्वान गर्ने निर्णय गरेको पार्टीका महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । 

उहाँले गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि पालिका स्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो । काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समसामयिक विषयमा केन्द्रित भएको यो बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाउने र त्यसका लागि आम जनसमुदायलाई गणतन्त्रलाई उत्सवको रूपमा आयोजना गर्न आह्वान गर्ने निर्णय गरेको छ । त्यसैगरी पार्टी कमिटीका तर्फबाट र पालिकाका तर्फबाट गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि पालिका स्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।”

महासचिव पोखरेलले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने ऐतिहासिक उपलब्धिको रूपमा रहेको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल र सुदृढ बनाउने कुरामा एमालेले जोड दिएको जिकिर गर्नुभयो । उहाँले जनताको सम्प्रभुताको विरुद्धमा हुने कुनै पनि गतिविधिहरू एमालेलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो । 

महासचिव पोखरेलले गणतन्त्र जनताको सार्वभौम शासन व्यवस्था रहेको बताउँदै त्यसलाई सबल र सुदृढ बनाउने कुरामा एमाले प्रतिबद्ध रहेको दोहोर्‍याउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.