काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्नुभएको छ । आइतबार मन्त्रालयका सचिवसहितका उच्चस्तरीय अधिकारीसँगै मन्त्री दाहालले निर्मार्णाधीन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।
सो अवसरका सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री दाहालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको गौरवको विषय भएको बताउनुभयो । उहाँले लामो समयको प्रतीक्षापछि सञ्चालनमा आउने तयारीमा रहेको सुरुङमार्गको सब-अपरेशनको काम अगामी कात्तिक ७ गतेदेखि सुरु गरिने उल्लेख गर्नुभयो । मन्त्री दाहालले सन् २०२६ को जनवरी १ देखि सुरुङमार्गलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।
मन्त्री दाहालले भन्नुभयो, “हामी अगामी कात्तिक ७ गतेदेखि सामान्य सब-अपरेशनको काम चाहिँ सुरु गर्छौं । सिभिल वर्क अक्टोबर २५ मा सकिन्छ । त्यो काम सकिएपछि हामीलाई हस्तान्तरण हुन्छ । यसलाई पूर्णरूपमा अगामी वर्षको जनवरी १ देखि सुरु गर्ने भनेका छौं । तर त्यसअघि नै हामीले सुरुङमार्ग सञ्चालनको लागि डेमो जस्तो गरेर यसलाई पूर्णरूपमा सञ्चालनमा ल्याउनका लागि काम गर्छौं ।”