काठमाडौं । लिभरपुलका फरवार्ड मोहम्मद सालाहले फुटबल राइटर्स एसोसिएसन पुरूष वर्ष खेलाडीको अवार्ड जितेका छन । सालाह तेस्रो पटक यो अवार्डबाट सम्मानित भएका हुन् । लन्डनमा आयोजित समारोहमा महिला तर्फको अवार्ड आर्सनलकी स्ट्राइकर अलेसिया रूसोले हात पारिन् ।
सालाह यो प्रतिष्ठित उपाधि तीन पटक जित्ने दोस्रो खेलाडी बनेका छन । यसअघि आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरीले मात्र यो उपलब्धि हासिल गरेका थिए । सालाह यस सिजन २८ गोल गर्दै प्रिमियर लिगको गोल तालिकाको शीर्ष स्थानमा छन।
उनको उत्कृष्ट प्रदर्शनकै कारण लिभरपुलले सन् २०१७ मा उनी क्लबमा आएयता दोस्रो पटक लिग उपाधि जित्न सफल भए । सालाहपछि सर्वाधिक मत पाउने खेलाडी लिभरपुलकै भर्जिल भान डाइक रहे । न्यूक्यासल युनाइटेडका अलेक्जेन्डर इसाक र आर्सनलका डेक्लान राइस क्रमशः तेस्रो र चौंथो स्थानमा रहे ।
महिलातर्फ इंग्ल्याण्डकी स्ट्राइकर अलेसिया रूसोले उत्कृष्ट प्रदर्शन गर्दै आठ गोलसहित आर्सनललाई महिला च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन योगदान दिएकी छन ।
उनले म्यानचेस्टर सिटीकी फरवार्ड तथा गत वर्षको विजेता खादिजा शलाई पछि पारिन् । महिला विधामा आर्सनलकी फरवार्ड मरियोना काल्देनते तेस्रो स्थानमा रहिन् भने चेल्सीकी कप्तान मिली ब्राइट चौथो स्थानमा रहिन् ।