भिजिट भिसा सेटिङ : अध्यागमनका ८ कर्मचारीको खोसियो जिम्मेवारी

जेष्ठ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
भिजिट भिसा सेटिङ : अध्यागमनका ८ कर्मचारीको खोसियो जिम्मेवारी

काठमाडौं । मानव तस्करीमा गृह प्रशासनकै संलग्नताको आरोप लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ८ कर्मचारीको जिम्मेवारी खोसिएको छ । मानव तस्करसँग मिलेर भिजिट भिसामा नेपालीलाई विदेश पुर्‍याउन संलग्न भएको आरोपमा सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले छानबिन अघि बढाएको छ ।

भट्टराईबाट नियन्त्रणमा लिइएका उपकरणमाथि छानबिन चलिरहँदा सेटिङमा संलग्न रहेको आंशकामा अध्यागमनमा कार्यरत ८ कर्मचारीलाई सरुवा गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसा मार्फत तस्करी भएको देखिएपछि त्यहाँ कार्यरत तीन जना नायब सुब्बा, एक सहायक कम्प्युटर अपरेटर र चार कम्प्युटर अपरेटरको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहँदा सहसचिव तीर्थराज भट्टराई मानव तस्करीको संलग्नतामा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान गरिरहेको छ ।

त्यसबाहेक अन्य कर्मचारीहरूमाथिको अनुसन्धान पनि अख्तियारले अगाडि बढाएको छ । अख्तियार स्रोतका अनुसार भिजिट भिसामा विदेश जानेहरूसँग प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म असुलेर गिरोहको सेटिङमा दुबई लगायत मुलुकमा पठाउने गरेको उजुरीका आधारमा भट्टराईलाई नियन्त्रणमा लिइएको हो । आयोगले विमानस्थल अध्यागमन कार्यालयबाट भट्टराईले प्रयोग गर्ने कम्प्युटर र मोबाइलसहित केही उपकरण पनि नियन्त्रणमा लिइएको हो ।

मानव तस्कारीको जालो निकै बलियो भएको भन्दै त्यहाँ जाने कर्मचारीको सम्पत्ति सार्वजनिक गरेर मात्रै जानुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

यस्तै अहिले राजनीतिक संरक्षणदेखि दूतावाससम्मको मिलेमतोमा मानव तस्करी भइरहेको कतिपयको दाबी छ ।

विमानस्थलबाट भिजिट भिसामा विभिन्न देश जान आवश्यक कागजात तोकिएको छ । नेपालबाट जाने र फर्किने हवाई टिकट, बस्ने होटल, आफन्त लगायतका विवरण खुल्ने कागजात देखाउनु पर्ने निर्देशिका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.