काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै टोटनहम युरोपा लिगको च्याम्पियन बनेको छ । १७ वर्षपछि उपाधिको खडेरी तोड्दा ब्रेनन जोन्सनले ४२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । स्पेनको बिल्बाओस्थित साम मेम्स स्टेडियममा मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा ट्रफी जिताउने वाचा पूरा गरे ।
स्पेनको बिल्बाओस्थित साम मेम्स स्टेडियममा जब अन्तिम सिटी बज्यो, टोटनहमका कप्तान सन हिउङ मिनका आँखा रसाए । त्यो केवल विजयको क्षणमात्र थिएन, दशकौंको, निराशा र आलोचनाको जवाफ पनि थियो । लामो प्रतीक्षापछि फर्किएको आत्मगौरव थियो । टोटनहमले १७ वर्षपछि ट्रफी जित्यो, ४१ वर्षपछि युरोपेली उपाधि उचाल्यो र च्याम्यिन्स लिगमा स्थान बनायो ।
खेलको निर्णायक क्षण पहिलो हाफको अन्त्यतिर आयो । जब पापे सारले बायाँ किनाराबाट क्रस गर्दै असिस्ट गरे र ब्रेनन जोनसनले बललाई जाली भित्र पठाए । जोनसन २०१० पछि युरोपा लिग फाइनलमा गोल गर्ने पहिलो वेल्सका खेलाडी बने ।
दक्षिण कोरियाली फरवार्ड सन हिउङ मिनका लागि यो क्षण सबैभन्दा विशेष रह्यो । सनले टोटनहममा १० वर्षभन्दा बढी बिताए, सयौं गोल गरे, कप्तान बने, तर उपाधिविहीन थिए ।
यो जितसँगै उनी युरोपियन उपाधि जिताउने पहिलो दक्षिण कोरियाली कप्तान बने । फाइनलपछि मैदानमा ढलेर उनका आँसु झरे । त्यो केवल व्यक्तिगत सन्तोष थिएन, त्यो टिम र समर्थकका लागि झरेको आँसु थियो । त्यो आँसुभित्र दशकौंको पीडापछिको खुसी पनि लुकेको थियो ।
सन् २०२३ मा टोटनहमको जिम्मा लिएका अष्ट्रेलियन प्रशिक्षक एन्ज पोस्टेकोग्लु प्रारम्भमा आलोचनाको घेरामा थिए । तर, उनले परिवर्तनको बीउ रोपे । कुशल रणनीतिका साथ उनले क्लबलाई उपाधि दिलाएरै छोडे ।
पहिलो सिजन प्रभावसाली नरहेपनि दोस्रो सिजनमा उनले संरचनागत परिपक्वता देखाउँदै आवश्यकताअनुसार रक्षात्मक मोड अपनाए । पाँच डिफेन्डरसहितको सेटअप बनाए । अनि म्यानचेस्टर युनाइटेडजस्तो टिमविरूद्ध फाइन खेलमा १ गोलको अग्रता जोगाउन सफल भए ।
पोस्टेकोग्लुले यसअघि अस्ट्रेलियालाई एसियन कप र सेल्टिकलाई स्कटिस च्याम्पियन बनाएका थिए । यही अनुभव प्रयोग गर्दै उनले टोटनहमलाई ४१ वर्षपछि युरोपेली उपाधि दिलाए ।
अर्कोतर्फ म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रूवेन आमोरिमले एकदमै चुनौतीपूर्ण सिजनको सामना गरे । धेरै मुख्य खेलाडीहरू उपलब्ध रहँदा पनि युनाइटेडले आवश्यक परिणाम दिन सकेन ।
आक्रमणमा राम्रा अवसरहरू सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकिएन । फलस्वरूप २०१४-१५ को सिजनपछि म्यानचेस्टर युनाइटेड पहिलोपटक कुनै पनि युरोपेली प्रतियोगिता खेल्न नपाउने अवस्थामा पुग्यो । बुधबार ट्रफी उचालेपछि टोटनहमको आत्मविश्वास बढेको छ । सनको भावना र पोस्टेकोग्लुको दर्शनमा टोटनहमले नयाँ युगको सुरूआत गरेको छ ।