संखुवासभा/ खाँदबारी नगरपालिका–४ महभीरस्थित खानेपानी मुहानमा गएको पहिरोका कारण खाँदबारी बजारमा एक सातादेखि खानेपानी वितरण ठप्प भएको छ । साउन २५ पछि लगातार पहिरो खस्दै आएको र भदौ ५ गते ठूलो पहिरोले ईन्टेक पुरेपछि समस्या भएको हो ।
खाँदबारी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्य बरालका अनुसार भदौ ५ गते पुरिएको ईन्टेक तत्कालै सफा गर्न सुरु गरिएको थियो । तर पहिरोले ल्याएको ठूलो मात्रामा हिलो र फोहोर अझै हटाउन नसकिएको कारण वितरण सुरु गर्न नसिएको उहाँको भनाई छ । ईन्टेक सफा गरे पनि हिलो पूर्ण रूपमा हटाउन नसकिएकाले पानी पठाउन नसकिएको हो ।
खाँदबारी बजारमा करिब एक हजार बढी खानेपानी प्रयोगकर्ता रहेका छन् । दैनिक २० लिटर प्रति सेकेन्ड करिब १० लाख लिटर पानी आवश्यक पर्नेमा आपूर्ति ठप्प भएपछि स्थानीयबासी पुराना कुवा र धारामा निर्भर हुन बाध्य भएका छन्। बरालका अनुसार लगातारको वर्षा र पहिरोका कारण नियमित मर्मतसम्भारमा पनि कठिनाइ भएको छ ।
स्थानीयवासीले खानेपानी नपाउँदा दैनिक जीवन अस्तव्यस्त बनेको छ । बिहान बेलुकी पुराना कुवामा भीड लाग्न थालेको छ । विद्यालय र होटल व्यवसाय समेत प्रभावित भएका छन् ।
खानेपानी उपभोक्ता संस्थाले समस्या समाधानका लागि स्थानीय तह, प्राविधिक र उपभोक्तासँग निरन्तर छलफल गरिरहेको जनाएको छ ।