लिभरपुलमाथि ब्राइटनकाे पुनरागमन जित

जेष्ठ ६, २०८२ |खेल ब्युरो
लिभरपुलमाथि ब्राइटनकाे पुनरागमन जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग विजेता लिभरपुलले दुईपटक अग्रता लिएपनि ब्राइटनले उत्कृष्ट पुनरागमन गरेपछि हारको सामना गरेको छ । 

ब्राइटनले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको छ । जितसँगै ब्राइटनले अर्को सिजन युरोपियन फुटबल खेल्ने आशालाई जिवित राखेको छ ।

आमेक्स स्टेडियममा भएको रोमाञ्चक खेलमा हार्भी एलियटले नवौँ मिनेटमा गोल गर्दै लिभरपुललाई सुरूवाती अग्रता दिलाएका थिए । ३२औँ मिनेटमा यासिन अयारीले ब्राइटनका लागि बराबरी गोल फर्काए । तर, पहिलो हाफको अतिरिक्त समयमा डोमिनिक सोबोसलाइले गोल गरेपछि लिभरपुलले खेलमा पुन: अग्रता लिएको थियो ।

एलिसनले ड्यानी वेल्बेकको प्रयासमा उत्कृष्ट बचाउ गरे । तर, कौरो मितोमाले ६९औँ मिनेटमा ब्राइटनका लागि बराबरी गोल फर्काए । ८५औँ मिनेटमा वेकल्पिक खेलाडी ज्याक हिन्शेलवुडले म्याट ओराइलीको क्रसमा हेड गर्दै निर्णायक गोल गरे । 

सुरूमा अफसाइडको संकेत गरिएको यो गोलले भीएआर जाँचपछि मान्यता पाएको थियो । यससँगै ब्राइटनले उत्कृष्ट पुनरागमन गर्दै जित हात पार्‍यो । मोहम्मद सलाहका लागि लिभरपुलबाट यो ४ सयौँ खेल थियो ।

जितसँगै ब्राइटन लिगको ८औँ स्थानमा उक्लिएको छ । उसको ३७ खेलमा ५८ अंक छ । ब्राइटन ब्रेन्टफोर्डभन्दा ३ अंकले अघि छ । अब ब्राइटन आइतबार अन्तिम लिग खेलमा टोटनहमसँग प्रतिरस्पर्धा गर्नेछ ।