लखनऊको प्लेअफ पुग्ने सम्भावना समाप्त

जेष्ठ ६, २०८२ |खेल ब्युरो
लखनऊको प्लेअफ पुग्ने सम्भावना समाप्त

काठमाडौं । लखनऊ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग-आईपीएलको प्ले अफ दौडबाट बाहिरिएको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित भएपछि लखनऊको प्लेअफ पुग्ने सम्भावना सकिएको हो ।

यससँगै लखनऊ प्रतियोगिताबाट बाहिरिने पाँचौं टोली बनेको छ । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरू र पञ्जाब किंग्सले यसअघि नै प्ले अफमा स्थान बनाइ सक्दा अब एक स्थानका लागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धामा छन ।

एकाना स्टेडियममा हैदराबादले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि सुरूवातमा ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो ।

उत्कृष्ट सुरूवात गरेको लखनऊका लागि मिचेल मार्स र एडम मारक्रमले १ सय १५ रनको शतकीय ओपनिङ साझेदारी गरेका थिए । मार्सले ३९ बलमा ६ चौका र ४ छक्कासहित ६५ रन बनाए । 

कप्तान ऋषभ पन्त मात्र ७ रनमा बाहिरिए । मारक्रमले ३८ बल खेलेर ४ चौका र ४ छक्कासहित ६१ रनको अर्धशतकीय योगदान दिए । निकोलस पुरनले ४५ रन जोडे । हैदराबादका लागी एसान मालिङ्गाले सर्वाधिक २ विकेट लिए । हर्ष दुबे, नितिश कुमार रेड्डी र हर्षल पटेलले समान १-१ विकेट लिए ।

जवाफमा आज २ सय ६ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । अर्थव ताइडे १३ रनमा आउट भए । अभिषेक शर्माले २० बलमा ६ छक्का र ४ चौकाको मद्दतमा ५९ रनको आक्रमक इनिङ्स खेले । 

इशान किशनले ३५ र हेनरिक क्लासनले ४७ को योगदान दिए । कमिन्दु मेन्डिस ३२ रनमा रिटायर्ड हर्ट भए । अनिकेत बर्मा र नितिस कुमार समान ५-५ रनमा नटआउट रहे । लखनऊका लागि दिगभेस राठीले २ तथा सार्दुल ठाकुर र विल ओरूकेले समान १-१ विकेट लिए ।

यससँगै हैदराबादले १२ खेलमा ४ जितसहित ९ अंक जोडेको छ । ऊ यस अघिनै प्रतियोगिताबाट बाहिरीसकेको थियो । लखनऊले १२ खेलबाट १० अंक जोडेको छ ।