आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै

जेष्ठ ६, २०८२ |खेल ब्युरो
आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा नेपालले आज घरेलु टोली थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

टेर्डथाई क्रिकेट मैदान, बैंककमा खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरू हुनेछ । दुबै टोलीले यस अघिनै एसिया क्षेत्र छनोट पार गर्दै ग्लोबल छनोटमा स्थान बनाइ सकेका छन। दुबै टोली आजको खेल जित्दै एसिया छनोटको विजेताका रूपमा अघि बड्ने लक्ष्यमा हुने छन ।

नेपाल समूह सी र थाइल्यान्ड समूह बीको विजेताका रूपमा सुपर थि्रमा पुगेका थिए । सुपर थ्रीमा नेपाल र थाइल्यान्डले युएईलाई पराजित गर्दै ग्लोबल छनोटमा स्थान बनाएका थिए । 

सुपर थ्रीको पहिलो खेलमा थाइल्यान्डलले युएईलाई ५४ रनले पराजित गरेको थियो भने नेपालले युएईलाई ५ विकेटले हराएको थियो । हिजोको खेलमा बलिङमा कविता कुवर र ब्याटिङमा कप्तान इन्दू बर्माले सानदार प्रदर्शन गरेपछि नेपाल विजयी भएको हो । 

कविताले आफ्नो टी-२० आई करियरकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा २० रन खर्च गरेर ४ विकेट लिएकी थिइन् । ब्याटिङमा इन्दूले अविजित ३० तथा रूविना क्षेत्रीले २३ रन बनाएपछि १ सय १५ रनको लक्ष्य नेपालले सहजै पुरा गरेको थियो ।

टी-२० आईमा नेपालले हाल सम्म थाइल्यान्डलाई हराउन सकेको छैन । दुई टोली बीच खेलिएका सबै ६ खेल थाइल्यान्डले जितेको छ । टेर्डथाई क्रिकेट मैदानमा दुई टोलीबिच यस अघि एक खेल खेलिएको छ । अन्तिम पटक दुई टोली यसै फेब्रुअरीमा नेपालमा आयोजित त्रिकोणात्मक टी-२० आई सिरिजमा आमने समने भएका थिए । जहाँ थाइल्यान्ड क्रमस ४ विकेट, ५ रन र ७ विकेटले विजयी भएको थियो ।

आज नेपाललाई थाइल्यान्डविरूद्ध ऐतिहासिक जित हात पार्ने अवसर हुने छ । प्रतियोगितमा थाइल्यान्डको ८ र नेपालको ७ अंक छ । आजको खेल जित्ने टोली एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालीफायर्समा पुग्ने छ । तर, बैंककमा आज पनि वर्षा हुने अनुमान गरिएको छ ।