विश्वमञ्चमा झण्डा गाड्ने बाटोमा अग्रसर नेपाली महिला क्रिकेट टोली, १८ वर्षको मेहनतले पायो सार्थकता

जेष्ठ ५, २०८२ |सुवास रोकाया
विश्वमञ्चमा झण्डा गाड्ने बाटोमा अग्रसर नेपाली महिला क्रिकेट टोली, १८ वर्षको मेहनतले पायो सार्थकता

काठमाडौं । नेपाली महिला क्रिकेट टिम विश्वकपको ग्लोबल छनोटमा पुग्न हकदार थियो । उसले यूएईलाई हराएर यसको प्रमाण पेश गर्‍यो । यूएईविरुद्ध लगातार जित निकाल्दै आएको महिला टिमले आज फेरि एक पटक ब्याटिङ, बलिङ र फिल्डिङमा राम्रो प्रदर्शन गरेर महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गरेको हो । एसिया क्षेत्र छनोटको सुपर थ्रीबाट नेपाल पहिलो पटक विश्व छनोटमा पुगेपछि नेपाली महिला क्रिकेटले सम्भावनाका नयाँ बाटो खोलेको छ ।

जुन २४, २०२२ मा एसीसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा यूएईलाई ८१ रनमा अलआउट गरे पनि वर्षाका कारण खेल रद्द हुँदा नेपाल फाइनल पुग्नबाट चुकेको थियो । हारपछि पूरै नेपाली टोली ड्रेसिङ रूममा रोएको थियो । तत्कालीन प्रशिक्षक जगत टमाटाले जेनतेन आँसु लुकाएका थिए । तर नेपाल अवतरण गर्दा उनले पनि भावना नियन्त्रण गर्न सकेका थिएनन् । तर आज नेपालले यूएईलाई पराजित गर्दै टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउँदा पूरै देशले उत्सव मनाइरहेको छ । नेपाली क्रिकेटका गुरु जगत टमाटाको हृदयमा लागेको चोटले आज मलहम पाएको छ ।

नेपाली महिला क्रिकेटको यो यात्राले खेललाई मात्र होइन, समाजका धेरै पूर्वाग्रहलाई पनि चुनौती दिएको छ । टिमको यो सफलताले नेपालमा महिला खेलाडीको हैसियतलाई नयाँ ढंगले परिभाषित गरेको छ । आफ्नो अस्तित्व जोगाउन लामो समयदेखि संघर्ष गर्दै आएको नेपा‍ली महिला क्रिकेटको आजको जितले के देखाएको छ भने जब अवसर, प्रशिक्षण र आत्मविश्वासको समिश्रण मिल्छ- तब विश्वमञ्चमा झण्डा गाड्न सक्छ ।

यो जित संयोग होइन, समर्पणको फल हो । प्रशिक्षक मनोज कटुवालको सुझबुझ, महिना दिनअघिबाट थालिएको तयारी, विषेश गरी थाइल्यान्ड र नेरल्यान्ड्ससँगको त्रिकोणात्मक घरेलु सिरिज, अफ्रिकामा खेलिएको चार राष्ट्र सम्मिलित सिरिज र भारतमा गरिएको तयारी । यो सबै प्रयासले टिमको समग्र प्रदर्शनमा गुणात्मक सुधार ल्याएको हो । 

यूएईजस्तो बलियो टिमविरुद्ध नेपालले खेलेको आत्मविश्वासी क्रिकेटले महिला टिमको नयाँ सोच र आत्मबल देखायो । कप्तान इन्दु बर्माले चार खेलमा ७० रन बनाइन् । प्रशिक्षक मनोज कटुवालले मनीषा उपाध्यायलाई आजको खेलमा मात्रै उतारेर यूएईलाई सरप्राइज दिए । पूर्वकप्तान रुविनाले २३ रन बनाएर खेललाई नेपालको पक्ष्यमा ल्याएकी थिइन् । इन्दु बर्माको शान्त नेतृत्व, अनुभवी खेलाडीको योगदान र युवा प्रतिभाको आत्मबलले टिमलाई पूर्णता दिएको हो । सोही कारण पिचमा रणनीति र योजनालाई पूर्णरूपमा कार्यान्वयन भयो ।

महिला क्रिकेटले अहिले देशलाई जुन सन्देश दिएको छ, त्यो गहिरो छ । राष्ट्रको पहिचान बनाउने मैदान अब केवल पुरुषको होइन । महिला टोलीले पनि ब्याट र बलमार्फत समग्र राष्ट्रलाई गौरवान्वित बनाइरहेका छन् । उनीहरूको संघर्षका कथा, कठिनाइका दिन र सशक्त पुनरागमन नेपाली खेलकुदको पाठशालामा प्रेरणाका अध्याय बन्नेछन् ।

यो त आंशिक सफलता मात्र हो । ग्लोबल छनोटमा प्रतिस्पर्धा अझ कडा हुनेछ । अर्को चरणमा कस्तो तयारी गर्ने भन्नेमा आजैदेखि स्पष्ट योजना बनाउनुपर्ने छ । खेलाडीको मानसिक र प्राविधिक तयारी अत्यन्त जरुरी हुनेछ । महिला टिमले अब निरन्तर अभ्यास, पर्याप्त अन्तर्राष्ट्रिय खेल र विश्वस्तरको कोचिङ चाहिन्छ । क्यानको महिला क्यालेन्डर पूर्ण कार्यान्वयन हुनुपर्छ । पुरुष टिमले जस्तै महिला टिमले पनि एकदिवसीय मान्यता प्राप्त गर्न योग्य बनाउनुपर्छ । क्यानले पछिल्लो सयम केही पहल गरे पनि अब त्यसलाई संस्थागत, दीर्घकालीन र व्यवस्थितरूपमा अगाडि बढाउनु जरुरी छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।