ला लिगा : लिग च्याम्पियन बार्सिलोना घरेलु मैदानमा भिल्लारियालसँग पराजित

जेष्ठ ५, २०८२ |खेल ब्युरो
ला लिगा : लिग च्याम्पियन बार्सिलोना घरेलु मैदानमा भिल्लारियालसँग पराजित

काठमाडौं । स्पेनिस लिग ला लिगा च्याम्पियन बनेपछि आफ्नो पहिलो खेलमा बार्सिलोना घरेलु मैदानमा भिल्लारियालसँग ३-२ ले पराजित भएको छ । यस जितसँगै भिल्लारियलले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

हान्सी फ्लिकको टोलीले बिहीबार स्थानीय प्रतिद्वन्द्वी एस्पान्योलविरुद्ध २-० को जित निकालेर उपाधि सुनिश्चित गरेको थियो । तर, उपाधि जितपछि केही थकित देखिएको बार्साको १७ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्यो ।

खेलको चौथो मिनेटमै अयोजे पेरेजले गोल गर्दै भिल्लारियाललाई अग्रता दिलाए । ३८औं मिनेटमा युवा स्टार लामिन यमालले बराबरी गोल फर्काए ।

पहिलो हाफको अतिरित समयमा बारमा लागेर फर्किएको यमालको प्रहारमा फर्मिन लोपेजले रिबाउन्डमा गोल गर्दै बार्सालाई अग्रता दिलाए । तर, दोस्रो हाफको सुरुवातमै सान्ती कोमेसानाले खेल बराबरीमा ल्याए । त्यसपछि जेरार्ड मोरेनोको उत्कृष्ट क्रसमा ताजोन बुकाननले ८०औं मिनेटमा निर्णायक गोल गर्दै भिल्लारियाललाई जित दिलाए ।

अर्को खेलमा रियाल मड्रिडले सेभियाविरुद्ध २-० को जित निकाल्यो । खेलमा सेभियाका लोइक बाडे र आइज्याक रोमेरोले रातो कार्ड खााएपछि टोली ९ खेलाडीमा सिमित भएको थियो । 

रियालका लागि किलियन एम्बाप्पे र जुड बेलिङ्घमले अन्तिम समयमा गोल गर्दै जित सुनिश्चित गरेका हुन् । ला लिगामा अब सबै टिमले १-१ खेल मात्र खेल्न बाँकी छ ।