आइपिएल : दिल्ली क्यापिटल्सलाई १० विकेटले हराउँदै गुजरात टाइटन्स प्लेअफमा पुग्यो

जेष्ठ ५, २०८२ |खेल ब्युरो
आइपिएल : दिल्ली क्यापिटल्सलाई १० विकेटले हराउँदै गुजरात टाइटन्स प्लेअफमा पुग्यो

काठमाडौं । इन्डियन प्रिरमियर लिग आइपीएलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सविरुद्ध १० विकेटको सानदार जित हात पारेपछि गुजरातसँगै रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाब सुपर किङ्स पनि प्ले अफमा प्रवेश गरेका छन् ।

यस हारले दिल्लीको प्ले अफ सम्भावना कठिन बनेको छ । गुजरातको जितमा कप्तान शुभमन गिल र साइ सुदर्शनले उत्कृष्ट ब्याटिङ गरे ।

अरूण जेटली स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली दिल्लीले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । 

ओपनर फाप डु प्लेसिस ५ रनमा आउट भए । दोस्रो विकेटका लागि केएल राहुल र अभिषेक पोरेलले ५२ बलमा ९० रनको साझेदारी गरे । अभिषेक ३० रन जोडेर साइ किशोरको बलमा आउट भए । कप्तान अक्षर पटेलले २५ रन मात्र बनाउन सके । राहुलले ६० बलमा १२ चौका र ४ छक्का सहित १ सय १२ रनको अविजित शतकीय इनिङ्स खेले । ट्रिस्टन स्टब्स २१ रनमा अविजित रहे ।

गुजरातका लागि अर्सद खान, प्रसिद्ध कृष्णा र साइ किशोरले समान १-१ विकेट लिए ।

जवाफमा २ सय रनको लक्ष्य गुजरातले १९ ओभरमा बिना कुनै विकेट गुमाएर पूरा गर्‍यो । सुदर्शनले ६१ बलमा १२ चौका र ४ छक्कासहित अविजित १ सय ८ रनको शतकीय योगदान दिए । शुभमनले ५३ बलमा अविजित ९३ रन बनाए ।

दिल्लीलाई पराजित गरेको गुजरात १२ खेलमा ९ जितसहित १८ अंक जोडेर प्ले अफमा प्रवेश गर्‍यो । यस नतिजाले समान १७-१७ अंक बनाएका आरसीबी र पञ्जाब पनि प्ले अफमा पुगेका छन् । 

१२ खेलमा १३ अंक जोडेको दिल्लीका लागि प्लेअफ दौड कठिन बनेको छ । अब अन्तिम एक स्थानका लागि दिल्ली, मुम्बई र लखनउ प्रतिस्पर्धामा छन् ।