साफ यू-१९ च्याम्पियनसिप २०२५ को उपाधि भारतले जित्यो

जेष्ठ ५, २०८२ |खेल ब्युरो
साफ यू-१९ च्याम्पियनसिप २०२५ को उपाधि भारतले जित्यो

काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप २०२५ को उपाधि भारतले जितेको छ । भारतको अरुणाचल प्रदेशको युपियास्थित गोल्डेन जुब्ली रंगशालामा गए राति भएको फाइनलमा घरेलु टोली भारतले बंगलादेशलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएको थियो । खेलको सुरुदेखि नै भारतले आक्रामक खेल प्रस्तुत गरेको थियो । खेलको दोस्रो मिनेटमा नै कप्तान सामीले ३० यार्ड टाढाबाट फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका थिए । बंगलादेशी गोलकिपरले बल छोए पनि रोक्न सकेनन् ।

१६औं मिनेटमा ओमाङ डोडुम ले डिफेन्स चिर्दै अर्को गोलको राम्रो प्रयास गरे । तर, माहिनले शानदार बचाउ गरे ।

त्यसपछि बंगलादेशले क्रमशः लय समात्दै भारतको लयमा बाधा पुर्‍यायो । खेलको दोस्रो हाफमा बंगलादेशले उत्कृष्ट पुनरागमन गर्दै बराबरी गोल गर्‍यो । ६१औं मिनेटमा मोहम्मद जोय अहमेदले गोल गर्दै बंगलादेशलाई बराबरीमा ल्याएका हुन् ।

पेनाल्टी सुटआउटमा भारतका रोहेन सिंहको कमजोर प्रहार रोकेर बंगलादेशका गोल रक्षक मोहम्मद इस्माइल होसैन माहिनले टोलीलाई अग्रता दिलाए । तर, बंगलादेशका कप्तान नाजमुल हुडा फैसलले बल बारमाथि हानेपछि भारतलाई राहत मिल्यो । त्यसपछि भारतीय कीपर सुरज सिंह आहैबामले सलाहुद्दिन शाहेदको प्रहार रोकेर निर्णायक भूमिका खेले ।