काठमाडौं । इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई १-० ले हराउँदै आर्सनलले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । यस नतिजापछि आर्सनलले पाँच खेलको जितरहित यात्रा समेत टुंग्याएको छ ।
इमिरेट्स स्टेडियममा भएको खेलमा डेक्लान राइसले दोस्रो हाफमा गरेको शानदार गोल निर्णायक बन्यो । यस जितसँगै मिकेल आर्टेटाको टोलीले तेस्रो स्थानको न्युकासलमाथि ५ अङ्कको अग्रता लिएको छ भने छैटौं स्थानको म्यानचेस्टर सिटीभन्दा ६ अङ्कले अगाडि पुगेको छ ।
जितसँगै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको आर्सनल लिगको दोस्रो स्थानमा छ । अब न्युकासलले बलियो गोलअन्तरले अन्तिम खेलमा एभर्टनमाथि जित हात पार्न सके शीर्ष ५ मा स्थान पक्का गर्ने सम्भावना छ । आर्सनलले लिगको आफ्नो अन्तिम खेलमा रेलिगेट भइसकेको साउथ ह्याम्प्टनविरुद्ध खेल्नेछ ।