सरकारले आयोजना गर्ने कार्यक्रममा नआउनेहरूलाई रेकर्ड हेरेर अबदेखि नबोलाउनू : प्रधानमन्त्री

जेष्ठ ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले आयोजना गर्ने कार्यक्रममा नआउनेहरूलाई रेकर्ड हेरेर अबदेखि नबोलाउनू : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरूलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिनुभएको छ । सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैं कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गर्नुभयो । 

कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सधैं नाम राखेर बोलाइरहने तर नआउने गरेको भन्दै उनीहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिनुभयो । कुनै अर्थ र महत्त्व नै नबुझ्नेहरूको नाम सधैं झुन्ड्याइरहने काम राम्रो नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “कहिले पनि नआउने, नाम राखिरहनुपर्ने । मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्यो हो । कोही कोही मान्छे हरेक फङ्सनमा राख्ने गर्दछौं । कहिल्यै देखापर्दैन । त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ । कहिले पनि नआउने, नाम सधैं टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्त्व नै छैन, अर्थ नै छैन भने सधैं नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ । आउनुपर्ने नआइदिने, बोलाउने सधैं बोलाइराख्नुपर्ने । यस्तो हुँदैन । अर्को पल्टसम्ममा सोधिखोजी गर्नुहोला । हेर्नुहोला रेकर्ड को एक पटक पनि आउँदैन । त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर आउने नभए नाम नराख्नु होला । हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने ।”

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.