हिमाली क्षेत्रका जोखिमयुक्त तालबाट हुनसक्ने क्षतिबारे गम्भीर हुन सांसदहरुको सरकारलाई ध्यानाकर्षण

जेष्ठ ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
हिमाली क्षेत्रका जोखिमयुक्त तालबाट हुनसक्ने क्षतिबारे गम्भीर हुन सांसदहरुको सरकारलाई ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले हिमाली क्षेत्रमा रहेका सबै ताल जोखिममा रहेको भन्दै त्यसबाट हुन सक्ने क्षति लगायतका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरुले हिमाली क्षेत्रमा रहेको जोखिमका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामाले सबै ताल जोखिममा रहेकाले सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले हुम्लाको लिमीस्थित तिलगाउँमा १ जेठमा हिमताल फुटेर गाउँ तहसनहस बनाएको भन्दै तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न सरकारसँग माग पनि गर्नुभयो ।

बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गुठीको समस्याका कारण देशभरका धेरै नागरिक प्रभावित भएको भन्दै विधेयक ल्याएर सम्बोधन गर्नुपर्ने माग गर्नुभयो । त्यस्तै, अर्का सांसद दुर्गा राईले सत्तारुढ दल कांग्रेस र एमालेले देशलाई दुई दलीय व्यवस्थामा लैजाने अभ्यास गरेको भन्दै आपत्ति जनाउनुभयो ।

बैठकमा सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारलाई असफल देखाउन विपक्षीले जेसुकै पनि बोल्ने गरेको आरोप लगाउनुभयो । 

उहाँले निर्वाचनमा जनतासँग गरेका बाचा पूरा गर्न आफ्नो विकास क्षेत्रमा योजना पार्न सांसदहरुले पहल गर्नु अस्वाभाविक नभएको बताउनुभयो । कांग्रेस सांसद अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन माग गर्नुभयो ।

बैठकमा गृहमन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदहरुका प्रश्नको जवाफ दिने कार्यसूची छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.