काठमाडौं । नेपाल पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीको आफ्नो पहिलो खेलमा आज यूएईलाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै ग्लोबल छनोटमा पुगेको हो ।
थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।
पहिलो विकेटका लागि ईशा ओजा र तीर्थ सतीशले १० ओभरमा ४५ रनको ओपनिङ साझेदारी गरे । ड्रिंक्स ब्रेकअघि २१ रन जोडेकी सतीश, राजमती ऐरीको बलमा सीता रानामगरको हातबाट क्याच आउट भइन् ।
३१ रन जोड्दा लङअनमा रिया शर्माले इशाको क्याच छोड्दा उनले जीवनदान पाएकी थिइन् । इशाले ३९ बलमा सर्वाधिक ३९ रनको योगदान दिइन् । उनलाई मनिषा उपाध्यायले पेवलियन फर्काएकी हुन् ।
१२ रन बनाएकी लावन्या केनी पनि मनिषाकै शिकार बनिन् । लावन्यालाई बाहिर पठाउने क्रममा कप्तान इन्दु बर्माले शानदार क्याच गरेकी थिइन् ।
मिशेल बोथाले ३ रन मात्र जोड्न सकिन् । २० रन जोडेकी हिना होतचन्दनीलाई मनिषाले बोल्ड गरिन् । मिरियम सबिन ५ रनमा आउट भइन् । वैष्णवी महेशले खाता खोल्न सकिनन् । उडेनी डोना ६ रनमाा अविजित रहिन् ।
नेपालका लागि मनिषाले ४ विकेट लिइन् । उनले ४ ओभरमा २० रन रर्च गरेर ४ विकेट लिएकी हुन् । टी-२० आईमा मनिषाको यो हालसम्मकै उत्कृष्ट प्रदर्शन हो । यसअघि उनले थाइल्याण्डविरुद्ध गत वर्ष १८ रन खर्च गरेर ३ विकेट लिएकी थिइन् । कविता कुँवरले २ तथा राजमतीले १ विकेट हात पारिन् ।
१ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर जित हासिल गर्यो ।
ओपनर राजमती ८ रन जोडेर रनआउट भइन् । अर्की ओपनर सम्झना खड्काले २७ बलमा ३ चौकासहित २१ रनको योगदान दिइन् । कविताले ५ रन मात्र बनाउन सकिन् ।
चौथो विकेटका लागि कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतोले २४ रनको साझेदारी गरे । पूजा १३ रन जोडेर स्टम्पिङ भइन् ।
रुविना क्षेत्री र इन्दुले पाँचौं विकेटका लागि ३७ रनको साझेदारी गरे । रुविनाले १८ बलमा २३ रनको योगदान दिइन् । इन्दुले अविजित ३० रनको इनिङ्स खेलिन् । रुवि पोदार ६ रनमा नटआउट रहिन् ।
यूएईका लागि सुरक्षा कोटी, वैष्णवी महेश, मिशेल बोथा र ईशा ओजाले समान १–१ विकेट लिए ।
यससँगै नेपाल र थाइल्यान्ड एसिया छनोटबाट ग्लोबल छनोटमा पुगेका छन् । सुपर थ्रीमा नेपालले भोलि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।