गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरलाई

काठमाडौंका लागि यो लगातार दोस्रो उपाधि
जेष्ठ ३, २०८२ |खेल ब्युरो
गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरलाई

काठमाडौं । दोस्रो संस्करणको उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ ।

गोदावरी बहुउद्देश्यीय रंगशालामा शुक्रबार सम्पन्न फाइनलमा काठमाडौंले गोदावरी नगरपालिकालाई सडन डेथमा ७-६ ले पराजित गर्दै च्याम्पियन बनेको हो । काठमाडौंका लागि यो लगातार दोस्रो उपाधि हो ।

निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । टाइ ब्रेकरमा काठमाडौंले ७-६ ले बाजी मार्‍यो । च्याम्पियन बनेसँगै काठमाडौंले ५ लाख रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । 

उपविजेता गोदावरीले ३ लाख रूपैयाँमा चित्त बुझायो । प्रतियोगिताको फेयर प्ले अवार्ड मध्यपुर ठिमी नगरपालिकाले प्राप्त गर्‍यो भने उत्कृष्ट खेलाडी पासाङ तामाङ घोषित भए । 

सर्वाधिक गोल गर्ने खेलाडीको अवार्ड गोदावरीका अरूण लामाले हात पारे । उनले प्रतियोगिता भर कुल ९ गोल गरेका थिए । उत्कृष्ट गोल रक्षकको अवार्ड गोदावरीकै विवेक सिलवालले हात पार्दा सरोज तामाङ उत्कृष्ट डिफेन्डर घोषित भए । इमर्जिङ खेलाडीको अवार्ड समीर तामाङले हात पारे ।

सेमिफाइनलमा गोदावरीले दक्षिणकाली नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४-३ तथा काठमाडौंले कीर्तिपुर नगरपालिकालाई ३-० ले पराजित गरेको थियो ।