गुल्सन र आरिफ चल्दा नेपालको संघर्षपूर्ण जित

जेष्ठ ३, २०८२ |खेल ब्युरो
गुल्सन र आरिफ चल्दा नेपालको संघर्षपूर्ण जित

काठमाडौं । आईसीसी विश्वकप लिग टूको तयारीका रहेको नेपाली क्रिकेट टिमले अहिले युकेमा तयारी गरिरहेको छ। शुक्रबार न्यु पोर्ट क्रिकेट क्लबविरुद्ध भएको अभ्यास खेलमा नेपाल ३ विकेटले विजयी भएको छ।

खेलमा पहिले ब्याटिङ गरेको न्यु पोर्ट ४२ ओभर तीन बलमा सबै विकेट गुमाएर दुई सय १२ रन बनाएको थियो। जवाफमा नेपालले ३८औं ओभरमा ७ विकेट गुमाएर २ सय १३ रनको लक्ष्य पुरा गरेको हो। 

रिजन ढकालले न्यु पोर्टका ओपनर हृयारी फन्डलाई दोस्रो ओभरमै आउट गरे। त्यतिबेला उनले २ रन मात्रै बनाएका थिए। दोस्रो विकेटको लागि न्यु पोर्टका ट्रिपकोली र क्लिकले ९७ रनको लामो समझेदारी गरे। 

त्यसपछि क्लिक आउट भएका थिए। उनी व्यक्तिगत ३६ रन बनाएर आउट भए। तर ओपनर ट्रिपकोलीले एक सय १८ रनको उत्कृष्ट इनिङ खेलेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो। नेपालको लागि कुशल भुर्तेलले तीन विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले दुई विकेट आफ्नो नाममा गरे। 

ललित र सोमपाल कामीले पनि १-१ विकेट लिए। जवाफमा नेपाली शीर्ष क्रमका ब्याटर मैदानमा टिक्न सकेनन्। १८ रन जोडेको अवस्थामा नेपालले पाँच विकेट गुमाइसकेको थियो। तर, मध्यक्रममा गुलसन र आरिफले नेपालको इनिङ सम्हाले। 

उनले ८० रनको योगदान गरे। त्यसैगरी आरिफ ७२ रनमा नटआउट रहे। गुल्सन र आरिफले एक सय ३३ रनको साझेदारी गरेका थिए। सोमपालले पनि नौं रन बनाए। रोहित पौडेल अभ्यासमा ढिलो पुगेको कारण उपकप्तानी एरीको नेतृत्वमा नेपाली टिमले खेलेको थियो। यो खेलमा ऐरीले २२ रनको योगदान गरेका थिए।