काठमाडौं । बार्सिलोना फुटबल क्लबले २८औं पटक ला-लिगाको उपाधि जितेको छ । यो सिजनमा बार्सिलोनाले ऐतिहासिक पुनरागमन गर्दै ला-लिगा, स्पेनिस सुपर कप र कोपा डेल रे उपाधि समेत आफ्नो पोल्टामा पार्यो ।
घरेलु प्रतियोगिता त क्लिन स्वीप नै गर्यो । यो सफलताको केन्द्रमा रहे प्रशिक्षक हान्सी फ्लिक । जसले युवा जोश र अनुभवी खेलाडीबीच सन्तुलन कायम गर्दै टिमलाई फेरि एकपटक उत्कृष्ट साबित गरेका छन् ।
२०औं शताब्दीको अन्त्यतिर लिभरपुलका डिफेन्डर एलन हान्सेन भन्थे- बच्चालाई खेलाएर केही जितिँदैन । उनको अभिव्यक्ति म्यानचेस्टर युनाइटेडको युवा टोलीतर्फ लक्षित थियो । तर सो कुरा सर एलेक्स फर्ग्युसनले २ उपाधि जितेर गलत साबित गरे । युनाइटेडको यो यात्रा ‘क्लास अफ नाइन्टी टु’ नामले परिचित छ । यता युवा क्याटलान टोलीलाई प्रशिक्षक हान्सी फ्लिकले बार्सिलोनाको पुनःजीवनको हतियार बनाएका छन् । जुन ‘क्लास अफ नाइन्टी टु’को प्रतिविम्ब हो ।
यो हो बार्सिलोनाको जितको कथा ।
यो सिजन बार्सिलोनाले कोपा डेल रे र स्पेनिस सुपर कप दुवैको फाइनलमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पाएको थियो । ती दुवै फाइनलमा उसले रियलका सबै ब्रह्मास्त्रलाई कमजोर साबित गर्दै उपाधि जित्यो । यही हप्ताको सुरुमा लस ब्लाङ्कोसलाई ला-लिगामा पुनः एक पटक हराउँदै बार्सा उपाधि नजिक मात्र पुगेन गए राति डर्बी भिडन्तमा उपाधि नै जित्यो । यो दशकयताकै उसको सबैभन्दा साहसी सफलता हो । बार्सिलोनाले घरेलु लिग क्लिन स्वीप गर्दा रियल भने चार वर्षपछि ट्रफीविहीन भएर सिजन बिताउन बाध्य भयो ।
स्पेनिस फुटबलमा यो सिजन बार्सिलोनाको कथा केवल जितको मात्र होइन, पुनःजन्मको पनि हो । सिजनको सुरुमा बार्सिलोनासँग पाउ टोरेस र ड्यानी ओल्मोलाई अनुबन्ध गर्ने आर्थिक अवस्था थिएन् । आर्थिक संकटले थिचिएको, समर्थकले विश्वास नगरेको र विश्व फुटबलमै पछाडि परेको क्लब फेरि एक पटक उपाधिको शिखरमा पुगेको छ । क्लबको हालको सफलता मुख्यरूपमा १७ वर्षीय लामिन यमाल, १८ वर्षीय पाउ कुवार्सी, २१ वर्षीय अलेहान्द्रो बाल्डे, मार्क कासाडो लगायतका नवीन र युवा खेलाडीमाथि आधारित छ । जहाँ अनुभवी खेलाडी- रोबर्ट लेवान्डोस्की, रफिन्हा र फन्की डे जोङले पनि मैदानमा युवा खेलाडीलाई लिड गरे ।
यही सिजनको सुरुमा अनुबन्ध भएका फ्लिकले टिममा आएपछि विश्वासको पुनःनिर्माण गरे । डे जोङलाई क्लबले बेच्न खोजेको महसुस हुँदा उनी आत्मविश्वास गुमाउँदै थिए । राफिन्हा ६० मिनेट नपुग्दै मैदानबाट निकालिन्थे र लेवान्डोस्कीलाई आफूसँग मिल्दो शैलीमा खेलाउन पूर्वप्रशिक्षक जाभी असमर्थ देखिन्थे । फ्लिकले सबैसँग प्रत्यक्ष कुरा गर्दै उनीहरूलाई कोर टिममा स्वीकार गर्ने वातावरण बनाए ।
परिणामस्वरूप लेवान्डोस्की यस सिजन २५ गोलसहित शीर्ष स्कोरर बने भने राफिन्हाले १८ गोल गरेर आक्रमणलाई धारिलो बनाए ।
रियाल मड्रिडविरुद्धको क्लासिको जितले टिमको एकता, रणनीतिक अनुशासन र आत्मबललाई उजागर गर्यो । विशेषगरी यमालले बार्सिलोनाविरुद्ध मिडफिल्डरले भन्दा बढी बल खोसेर उत्कृष्ट डिफेन्सको उदाहरण दिए । यस्तो कुशल खेलशैली फ्लिकको प्रशिक्षण दर्शनको प्रमाण हो ।
फ्लिकको कठोर अनुशासन पनि सफलताको एउटा महत्त्वपूर्ण पक्ष हो । यद्यपि सबथोक पूर्ण भने छैन । च्याम्पियन्स लिगमा १४ खेलमा २४ गोल खानु र फाइनलमा पुग्न नसक्नुले बार्सिलोनाको डिफेन्स अझ सुधारिनुपर्ने देखिन्छ । यसलाई फ्लिक आफैं पनि स्वीकार गर्छन् ।
गत सिजनबाट क्याटलान क्लबमा आएका उनीसँग सम्झौताको एक सिजन मात्रै बाँकी छ । उनले सम्झौता लामै समय रहोस् भन्ने पनि चाहेका छैनन् । तर के थाहा समर्थक र क्लबको माया यसैगरी पाइरहे उनी क्लबमै रहन पनि सक्छन् । उनले सुरु गरेको बार्सिलोनाको नयाँ युग उनैको नेतृत्वमा अघि बढोस्, क्याटलान क्लबका समर्थक र खेलाडीको मनमा यही छ । त्यसमाथि अधुरो यात्रालाई अन्तिम गन्तव्यमा पुर्याउने शक्ति पनि उनकै नेतृत्वमा देखिन्छ ।
- एजेन्सीहरूको सहयोगमा