आईसीसी विश्वकप लिग टू : नेदरल्यान्ड्स १४५ रनले पराजित

जेष्ठ ३, २०८२ |खेल ब्युरो
आईसीसी विश्वकप लिग टू : नेदरल्यान्ड्स १४५ रनले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्ड, नेदरल्यान्ड्स र युएईबीचको सिरिज सम्पन्न भएको छ। 

नेदरल्यान्ड्समा भएको सिरिजमा घरेलु टोलीले तीन, स्कटल्यान्डले २ र युएईले एक खेल जितेको छ। त्यसैगरी युएई र स्कटल्यान्डबीचको थप एक खेलसमेत सम्पन्न भएको छ।

गएरातिको खेलमा ब्रान्डन मक्मलेन नायक बन्दा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई एक सय ४५ रनले हराएको छ। पहिले ब्याटिङ गरेको स्कटल्यान्डले नौं विकेट क्षतिमा तीन सय ८० रन बनाएको थियो। 

जवाफमा नेदरल्यान्ड्स ४२ ओभर एक बलमा २ सय ३५ रन बनाएर सम्पूर्ण विकेट गुमाएको हो। यी दुई टिमहरू बीचमा भएको खेलमा यो अहिलेसम्मकै सबैभन्दा हाइस्कोरिङ खेलसमेत हो। 

स्कटल्यान्डको लागि ओपनर जर्ज मुन्सले ५६ बलमा ८० रनको उत्कृष्ट इनिङ्स खेले। उनले, १४ बाउन्ड्री प्रहार गरेका थिए। त्यसैगरी, ब्रान्डन मक्मलेनले १०१ रन बनाए। 

यी दुई खेलाडीले एक सय ८ रनको शतकीय साझेदारी गरे। चौथो नम्बरका रिची बेरिङ्टनले पनि एक सय ५ रनको योगदान गर्न सके। उनले मक्मलेनसँग मिलेर एक सय ३१ रनको विशाल साझेदारी गरेका थिए। 

त्यसैगरी माथिउ क्रसले पनि ४१ रन जोड्न सके। नेदरल्यान्ड्सका केली क्लेन र पल भान मिकिरनले ३-३ विकेट लिए। जवाफमा नेदरल्यान्ड्सका मिचेल लेविटले ३२, बास डि लिडले ७४, नोहा क्रोसले २३ रन बनाए। बाँकी खेलाडीले कमजोर प्रदर्शन गर्दा उसल लक्ष्य भेट्न सकेन। 

स्कटल्यान्डको लागि मक्मलेनले ४ विकेट लिएका थिए। यससँगै लिग टू अंकतालिकामा २० खेलबाट २६ अंक बनाएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ भने स्कटल्यान्ड २० अंकसहित तेस्रो स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको २२ अंक छ। 

समान ६-६ अंक भएका युएई र नेपाल क्रमशः सातौं र आठौं स्थानमा छन। अब, यही असार १ गतेबाट स्कटल्यान्डमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित ट्राइ नेसन्स सिरिज सुरु हुँनेछ। त्यसपछि यि तीन टिमबीच आईसीसी विश्वकप लिग टूको सिरिज हुनेछ।