बहराइन र हङकङबीचको खेल वर्षाले रद्द हुँदा नेपाल विश्वकप एसिया छनोटको सुपर थ्रीमा

जेष्ठ २, २०८२ |खेल ब्युरो
बहराइन र हङकङबीचको खेल वर्षाले रद्द हुँदा नेपाल विश्वकप एसिया छनोटको सुपर थ्रीमा

काठमाडौं । नेपाल आईसीसी टी ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ । वर्षाका कारण हङकङ र बहराइनबीचको खेल रद्द भएपछि नेपाल समूह सीको विजेताका रूपमा सुपर थ्रीमा प्रवेश गरेको हो । यो समूह चरणको अन्तिम खेल समेत थियो ।

थाइल्यान्डको, बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नालोजी मैदानमा वर्षाका कारण टस समेत हुन सकेन । खेल हुन नसक्दा हङकङ अभागी साबित भयो । बहराइन यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

यससँगै प्रतियोगिताको सुपर थ्रीमा पुग्ने ३ वटै टोलीको टुंगो लागेको छ । यसअघि समूह ‘ए’ बाट थाइल्यान्ड र ‘बी’बाट यूएई सुपर थ्रीमा पुगिसकेका छन् ।

समूह चरणमा नेपाल र हङकङको समान ५-५ अंक रहे पनि नेपाल बढी खेल जितेको आधारमा सुपर थ्रीमा प्रवेश गरेको हो । समूह चरणमा नेपालले बहराइनलाई २ पटक पराजित गरेको थियो । भने हङकङको एक खेल वर्षाले रद्द हुँदा एक खेलमा पराजित भएको थियो । हङकङ नेपालसँग एक खेलमा विजयी हुनुबाहेक अन्य खेल रद्द भए । 

नेपाल ४ खेलमा २ जितसहित ५ अंक जोडेर समूह ‘सी’को शीर्ष स्थानमा रह्यो । ३ खेलमा अंक बाँडेको हङकङ समान ५ अंकसहित दोस्रो स्थानमा रह्यो ।

सुपर थ्रीमा पुगेका ३ वटै टोलीले अब सिङ्गल राउन्ड रोबिनका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन् । नेपालले सोमबार यूएई र मंगलबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । सुपर थ्रीका शीर्ष २ टोलीले महिला टी-२० आई विश्वकप २०२६ को ग्लोबल छनोटमा स्थान बनाउने छन् । 

ग्लोबल छनोटको मिति घोषणा हुन बाँकी छ । महिला टी-२० विश्वकप २०२६ को जुन- जुलाईमा इङ्ल्यान्डमा आयोजना हुनेछ ।