काठमाडौं । साउदी प्रो लिगको उपाधि अल-इतिहादले जितेको छ। करिम बेन्जेमा कप्तानीमा रहेको टिमले बिहीबार गएराति अल रायदमाथि ३-१ को शानदार जित निकाल्दै लिगमा दुई खेल बाँकी रहँदै उपाधि सुरक्षित गर्यो।
यो जितसँगै अल-इतिहादले ३२ खेलमा ७७ अंक जोडेको छ। यो अंक दोस्रो स्थानको अल-हिलालभन्दा नौ अंकले धेरै हो। लरेन्ट ब्लाङको प्रशिक्षणमा रहेको टोलीलाई उपाधिका लागि गएराति जितको आवश्यकता थियो । र, उनीहरूले त्यो लक्ष्य सहजै पुरा गरेका हुन्। तर, खेलको सुरूआतमा टोलीलाई दबाबपूर्ण थियो।
पहिले नै रेलिगेसन भइसकेको अल-रायदका उमर गोन्जालेजले नवौं मिनेटमा गोल गर्दै अल-इतिहादलाई दबाबमा पारे। तर, १२ मिनेटपछि स्टेभेन बर्ग विनले बराबरी गोल फर्काएका थिए।
पहिलो हाफ सकिनुअघि डानिलो पेरेराको हेडरमार्फत् अल-इतिहादले अग्रता लिएको थियो। दोस्रो हाफको सुरूआतमै अब्दुलरहमान अल-ओबाउदले अर्को गोल गर्दै खेलको नतिजा स्पष्ट बनाएका हुन्।
जेद्दास्थित क्लब अल-इतिहादले यससँगै आफ्नो दशौं लिग उपाधि जितेको हो। जुन सन् २०२३ पछि पहिलो हो। टोली अब अर्को उपाधिको लागि मे ३० मा अल-कद्सियासँग किङ्स कपको फाइनल खेल्ने तयारीमा छ।